देउवा पक्षले धादिङमा बढायो महाधिवेशन गतिविधि, क्षेत्रगत जिम्मेवारी तोकियो

Avatar photo
Dhadingpost
अशोज १२, २०८३

धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै पार्टी सभापति शेरबहादुर देउवा पक्षले धादिङमा पनि आफ्नो गतिविधि अघि बढाएको छ ।

देउवा पक्षले धादिङमा महाधिवेशन तयारी तथा संगठन परिचालनका लागि विभिन्न जिम्मेवारी तोकेको जनाएको छ । देउवा पक्षका तर्फबाट धादिङ जिल्ला संयोजकको जिम्मेवारी गोपाल विश्वकर्माले सम्हाल्नुभएको छ ।

नेपाली कांग्रेस धादिङ प्रतिनिधिसभा क्षेत्र नं. १ ले १५औँ महाधिवेशनको तयारी तथा परिचालनका लागि रवि सुदन थापालाई परिचालन समितिको संयोजकको जिम्मेवारी दिएको जनाएको छ ।

त्यसैगरी, प्रदेश सभा क्षेत्र नं. १(क) मा नेपाली कांग्रेस धादिङका वर्तमान उपसभापति तथा युवा नेता सुजन पाण्डेलाई प्रदेश संयोजकको जिम्मेवारी दिइएको छ ।

प्रदेश सभा क्षेत्र नं. १(ख) मा नेपाली कांग्रेसका पूर्व जिल्ला कार्यसमिति सदस्य ज्ञानेन्द्र सिलवाललाई संयोजकमा सर्वसम्मत चयन गरिएको जनाइएको छ ।

आगामी असोज १५ गतेदेखि सुरु हुने भनिएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै आवश्यक तयारी, समन्वय तथा संगठन परिचालनका लागि क्षेत्रगत जिम्मेवारी तोकिएको नेपाली कांग्रेसका युवा नेता विकास अधिकारीले बताए ।

महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्र विभिन्न समूहले आ–आफ्नो पक्षमा संगठनात्मक गतिविधि र तयारीलाई तीव्र बनाएका छन् । धादिङमा पनि महाधिवेशन प्रतिनिधि छनोटदेखि नेतृत्व व्यवस्थापनसम्मका विषयमा राजनीतिक गतिविधि बढ्दै गएको छ ।