कांग्रेस धादिङ अधिवेशनः नवराज तिमल्सिना क्षेत्र नं. २ को सभापतिमा उम्मेदवार

Avatar photo
Dhadingpost
अशोज १२, २०८३

धादिङ । नेपाली कांग्रेस धादिङका सहसचिव नवराज तिमल्सिनाले नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं. २, धादिङको क्षेत्रीय सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

विद्यालय समयदेखि नै नेपाल विद्यार्थी संघमा आबद्ध भएर राजनीतिक तथा संगठनात्मक यात्रा सुरु गरेका तिमल्सिनाले श्री अचने माध्यमिक विद्यालयको नेविसंघ इकाई अध्यक्ष हुँदै नेविसंघको क्षेत्रीय अध्यक्ष, जिल्ला सदस्य र केन्द्रीय प्रतिनिधिको जिम्मेवारी सम्हालेका छन् ।

त्यसपछि नेपाली कांग्रेस धादिङको जिल्ला सदस्य हुँदै जिल्ला सहसचिवको जिम्मेवारीमा पुगेका तिमिल्सिनाले नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पूर्वमन्त्री रामनाथ अधिकारीको सचिवालय प्रमुखका रूपमा समेत कार्यसम्पादन गरेका थिए ।

२०७८ पुसमा सम्पन्न नेपाली कांग्रेस धादिङको १४औँ जिल्ला अधिवेशनबाट तिमिल्सिना १ हजार ९१ मत प्राप्त गरी सहसचिवमा निर्वाचित भएका थिए । २०८० मा सम्पन्न जिल्ला सम्मेलनमा उनले सूचना प्रविधि संयोजन समितिको संयोजकको जिम्मेवारी सम्हालेका थिए ।

त्यस्तै, पछिल्लो संघीय निर्वाचनमा उनी नेपाली कांग्रेस धादिङ क्षेत्र नं. २ को प्रचार–प्रसार समितिको संयोजकका रूपमा सक्रिय थिए । पार्टी संगठनमा लामो समयदेखि सक्रिय रहँदै आएका तिमिल्सिनाले अहिले युवा पुस्ताको प्रतिनिधित्व गर्दै क्षेत्रीय सभापतिमा उम्मेदवारी अघि सारेका हुन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशन आज दिउँसो १ बजे उद्घाटन हुँदैछ । अधिवेशनमा करिब १ हजार ७ सय प्रतिनिधि सहभागी हुने बताइएको छ । मतदान भने भोलि असोज १३ गते हुने कार्यतालिका रहेको छ।