
धादिङ । भारी वर्षा, हावाहुरी, चट्याङ तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावनालाई मध्यनजर गर्दै धादिङका अधिकांश विद्यालयमा दुई दिन पठनपाठन बन्द हुने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहलाई असोज ८ र ९ गते विद्यालय तथा परीक्षा स्थगित गर्न आग्रह गरेपछि धादिङका स्थानीय तहहरूले विद्यालय बन्द गर्ने तयारी गरेका हुन् ।
धादिङका गजुरी र थाक्रे गाउँपालिकाले विद्यालयमा दुई दिन बिदा दिने निर्णय गरिसकेका छन् । अन्य स्थानीय तहलाई पनि विद्यालय बन्द गर्न अनुरोध गरिएको शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख कृष्णकुमार श्रेष्ठले बताए ।
उनका अनुसार विद्यालय बन्द गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार स्थानीय तहमा रहेकाले सबै स्थानीय तहले आ–आफ्नो अवस्थाअनुसार निर्णय गर्नेछन् ।
धादिङबेँसीस्थित एड्भान्स एकेडेमीले पनि सूचना जारी गर्दै असोज ८ र ९ गते विद्यालय बन्द रहने जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानअनुसार असोज ९, १० र ११ गते देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको जनाइएको छ ।
मौसमविद्हरूका अनुसार न्यूनचापीय प्रणाली नेपालको नजिकिँदै जाँदा वर्षाको गतिविधि थप सक्रिय हुन सक्ने देखिएको छ । बिहीबार बिहानैदेखि काठमाडौंलगायत देशका पूर्वी, मध्य तथा मध्यपश्चिमका धेरै स्थानमा वर्षा सुरु भइसकेको छ ।
वर्षाका कारण राजमार्गमा पहिरो तथा उच्च हिमाली क्षेत्रमा हिमपहिरोको जोखिमसमेत रहेकाले लामो दूरीको यात्रा सकेसम्म स्थगित गर्न मौसमविद्हरूले सुझाव दिएका छन् ।
मौसम खुल्दैमा जोखिम कम भएको नमान्न र केही समयपछि पुनः ठूलो वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ ।
यसैबीच, धादिङका बाँकी स्थानीय तहले पनि मौसमको अवस्था र मन्त्रालयको आग्रहलाई आधार बनाएर विद्यालय बन्द गर्ने वा नियमित सञ्चालन गर्नेबारे निर्णय गर्ने भएका छन् ।
