धादिङ पनि बढी जोखिमको सूचीमा, किन पर्दैछ ठूलो पानी ?

Avatar photo
Dhadingpost
अशोज ६, २०८३

धादिङ । देशका विभिन्न स्थानमा वर्षा बढ्ने क्रमसँगै धादिङ पनि भारी वर्षाको सम्भावना रहेको क्षेत्रमा परेको छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दै आइतबारसम्म देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने तथा केही स्थानमा भीषणदेखि अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ ।

विभागका अनुसार मधेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भीषणदेखि अत्यधिक तथा कर्णाली प्रदेशका थोरै स्थानमा भीषण वर्षा हुने सम्भावना छ । बागमती प्रदेशमा पर्ने धादिङमा पनि भारी वर्षाका कारण बाढी, पहिरो तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले सतर्कता आवश्यक देखिएको छ ।

मौसममा आएको परिवर्तनको मुख्य कारण बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली हो । उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र अहिले बंगालको खाडीको मध्य भागमा रहेको र क्रमशः थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने क्रममा रहेको मौसमविद्हरूले बताएका छन् ।

मौसमविद् रोजन लामिछानेका अनुसार यही प्रणालीको प्रभावले बुधबारदेखि नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाका गतिविधि बढ्दै जाने देखिएको छ ।

यस प्रणालीसँगै बंगालको खाडीबाट नेपालतर्फ बढी जलवाष्पयुक्त हावा भित्रिन सक्ने भएकाले वर्षाको गतिविधि बढ्ने मौसमविद्हरूको भनाइ छ । विशेषगरी पहाडी तथा नदी आसपासका क्षेत्रमा छोटो समयमा ठूलो पानी परेमा आकस्मिक बाढी र पहिरोको जोखिम बढ्न सक्छ ।

धादिङमा यसअघि पनि बाढी र पहिरोका कारण जनधन तथा भौतिक संरचनामा क्षति पुगेको अवस्थामा थप वर्षाको पूर्वानुमानले जोखिम बढाएको छ । जिल्लाका नदी, खोला तथा पहिरोको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकले मौसमसम्बन्धी सूचना नियमित हेर्न र आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ ।