
धादिङ । पोर्चुगलको राजधानी लिस्बनस्थित मार्टिम मुनिजमा धादिङ घर भई पोर्चुगल बस्दै आएका रविन अधिकारी र उनको टिमले नयाँ सी फुड रेस्टुरेन्ट ‘वाउ क्र्याब’ सञ्चालनमा ल्याएको छ ।
विश्वकर्मा पूजाको शुभ अवसर पारेर शुक्रबारदेखि रेस्टुरेन्ट औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो । सञ्चालनको पहिलो दिन रेस्टुरेन्ट परिसरमा विधिपूर्वक पूजाआजा गरी व्यवसायको शुभारम्भ गरिएको थियो ।
विशेषगरी लिस्बनमा आउने पर्यटक तथा पोर्चुगिस नागरिकलाई लक्षित गरी ‘वाउ क्र्याब’ सञ्चालनमा ल्याइएको सञ्चालक अधिकारीले बताए । रेस्टुरेन्टमा विभिन्न प्रकारका सी फुड परिकार उपलब्ध गराउने तयारी गरिएको छ ।
व्यवसायी अधिकारीले यसअघि लिस्बनमा ‘दियालो रेस्टुरेन्ट’ सञ्चालनमा ल्याएका छन् । व्यवसायसँगै सामाजिक गतिविधिमा समेत सक्रिय अधिकारी धादिङ समाज पोर्चुगलका सल्लाहकार हुन् । उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको अध्यक्षसमेत हुन् ।
पोर्चुगलमा नेपाली समुदायको सामाजिक तथा व्यवसायिक गतिविधिमा सक्रिय रहँदै आएका अधिकारीले नयाँ रेस्टुरेन्टमार्फत स्थानीय तथा विदेशी ग्राहकलाई नेपाली व्यवसायीको नयाँ सेवा र स्वादसँग जोड्ने प्रयास गरिएको बताए ।
