कराते प्रशिक्षक धादिङका ध्रुवविक्रम मल्ललाई पल्सर स्पोर्टस अवार्डबाट विशेष सम्मान

Avatar photo
Dhadingpost
भदौ १८, २०८३

धादिङ । नेपाली कराते खेलमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका धादिङका कराते प्रशिक्षक ध्रुवविक्रम मल्ल पल्सर स्पोर्टस अवार्ड २०८२ बाट सम्मानित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गरेको २३औँ पल्सर स्पोर्टस अवार्ड २०८२ अन्तर्गत मल्ललाई एनएसजेएफ स्पेशल अवार्ड प्रदान गरिएको हो । सम्मानसँगै उनलाई १ लाख रुपैयाँ नगद प्रदान गरिएको छ ।

बालाजु कराते डो एकेडेमीमार्फत मल्लले नेपाली करातेका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गर्ने थुप्रै खेलाडी तयार गरेका छन् । उनको प्रशिक्षण र मार्गदर्शनमा तयार भएका खेलाडीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि पदक जितेका छन्।

सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको एसियाली खेलकुदमा नेपाली कराते खेलाडी विमला तामाङले कातातर्फ कांस्य पदक जितेकी थिइन् । उक्त सफलतामा प्रशिक्षक मल्लको प्रशिक्षण र मार्गदर्शनलाई पनि महत्वपूर्ण रूपमा लिइन्छ । सो पदकले नेपाललाई उक्त एसियाली खेलकुदमा पदकविहीन हुनबाट जोगाएको थियो ।

त्यसैगरी, दक्षिण एसियाली खेलकुद (साग) लगायतका प्रतियोगितामा पदक जित्ने थुप्रै नेपाली कराते खेलाडी तयार पार्न मल्लको योगदान रहेको छ । लामो समयदेखि खेलाडी उत्पादन र प्रशिक्षणमा सक्रिय रहेकै कारण उनलाई नेपाली खेलकुद क्षेत्रमा अब्बल प्रशिक्षकका रूपमा समेत चिनिन्छ ।


मल्लको प्रशिक्षणको क्षेत्र करातेसम्म मात्र सीमित छैन । नेपाललाई अल्ट्रा म्याराथनमा अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल मिरा राई तथा सुनमाया बुढा जस्ता खेलाडीहरूसँग पनि उनले प्रशिक्षकका रूपमा काम गरेका छन् ।

मल्ल खेलाडीलाई खेलकुद प्रशिक्षण दिने व्यक्तिमात्र नभई उनीहरूको सुख–दुःखमा साथ दिने अभिभावकीय भूमिकामा समेत रहने गरेका छन् । धेरै खेलाडीका लागि उनी प्रशिक्षकसँगै परिवारको सदस्यजस्तै बनेका छन्।

यही योगदान र नेपाली खेलकुदमा पुर्‍याएको निरन्तर योगदानको कदर गर्दै एनएसजेएफले मल्ललाई विशेष अवार्डबाट सम्मान गरेको हो ।