धादिङका ३ शिक्षकको मृत्यु, ६ जना बेपत्ता; भोटेकोशी बाढीले विद्यालयमा ठूलो क्षति

Avatar photo
Dhadingpost
भदौ १८, २०८३

धादिङ । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढी तथा पहिरोका कारण धादिङमा ३ जना शिक्षकको मृत्यु भएको छ भने ६ जना शिक्षक अझै बेपत्ता छन् । बाढीपहिरोले जिल्लाका विभिन्न विद्यालयमा समेत ठूलो भौतिक क्षति पुर्‍याएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ, धादिङले सार्वजनिक गरेको विवरणअनुसार बाढीपहिरोका कारण जिल्लाका गल्छी, गजुरी, सिद्धलेक र बेनीघाट रोराङलगायतका क्षेत्रमा रहेका विद्यालयका भवन, कक्षाकोठा, प्रयोगशाला, फर्निचर, खानेपानी, शौचालय तथा अन्य शैक्षिक पूर्वाधारमा क्षति पुगेको छ ।

धादिङमा ३ शिक्षकको मृत्यु

बाढीपहिरोमा परी निलकण्ठ नगरपालिकास्थित न्यु किबो बोर्डिङ स्कुलकी कार्यरत शिक्षक इन्दिरा अर्यालको मृत्यु भएको छ ।

त्यस्तै, सिद्धलेक गाउँपालिकाका पूर्व शिक्षकहरू हरि प्रसाद सिलवालघनश्याम भट्टको पनि बाढीपहिरोका कारण मृत्यु भएको जनाइएको छ ।

धादिङका ६ शिक्षक अझै बेपत्ता

बाढीपहिरोपछि धादिङका विभिन्न विद्यालयमा कार्यरत तथा पूर्व शिक्षक गरी ६ जना अझै सम्पर्कविहीन रहेका छन् ।

सम्पर्कविहीन हुनेमा पशुपति माध्यमिक विद्यालय, निलकण्ठ–१२ का ठाकुर प्रसाद लम्साल, देउराली माध्यमिक विद्यालय, निलकण्ठ–८ की जानुका खनाल र पाल्पा सामरी भञ्ज्याङ माध्यमिक विद्यालय, निलकण्ठ–९ का शिवहरि लम्साल रहेका छन् ।

त्यस्तै, भैरवी माध्यमिक विद्यालय, निलकण्ठ–६ का पूर्व शिक्षक तुलसी तिमल्सेना, निलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय, निलकण्ठ–३ की पूर्व शिक्षिका ईश्वरी तिमल्सेना तथा सुनखानी माध्यमिक विद्यालय, ज्वालामुखी–६ का पूर्व शिक्षक नारायण प्रसाद लम्साल पनि सम्पर्कविहीन रहेको एकाइले जनाएको छ ।

धादिङका विद्यालयमा ठूलो भौतिक क्षति

गल्छी गाउँपालिका–६ स्थित बागेश्वरी माध्यमिक विद्यालयको विज्ञान तथा कम्प्युटर प्रयोगशाला, बालविकासका सामग्री, फर्निचर, चमेनागृह र साउण्ड सिस्टम पूर्ण रूपमा नष्ट भएका छन् । विद्यालयका तीनवटा भवनको ग्राउन्ड फ्लोरमा लेदो पसेको छ ।

सोही वडामा रहेको अम्लेधर गुरुकुल संस्कृतदेवी विद्याश्रमका तीनवटा भवनका आठवटा कक्षाकोठा, पाठ्यपुस्तक, लत्ताकपडा, फर्निचर, कम्प्युटर तथा शौचालयमा क्षति पुगेको छ ।

सक्सेस एकेडेमीको खेलमैदान र चमेनागृहमा लेदो जमेर क्षति भएको छ ।

सिद्धलेक–४ स्थित जलेश्वरी माध्यमिक विद्यालयको खानेपानीको इनार, ट्याङ्की, मोटर, करिब ४०० मिटर विद्युत् तार र बाटोमा क्षति पुगेको छ भने खेलमैदानसमेत धसिएको छ ।

बेनीघाट रोराङ–७ स्थित बुद्धिविकास आधारभूत विद्यालयको भवन, पर्खाल, शौचालय तथा बालउद्यान पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । कृष्णभीर क्षेत्रमा नदी कटान र पहिरोका कारण विद्यार्थीको आवतजावतसमेत प्रभावित भएको छ ।

यसैगरी गजुरीस्थित भद्रकाली गुरुकुलको पानी तान्ने मेसिन, मझिमटारको शंखादेवी माध्यमिक विद्यालयको खानेपानी लाइन तथा टेवा पर्खालमा क्षति पुगेको छ। धुषा सामुदायिक सिकाइ केन्द्रका फर्निचर तथा ICT सामग्रीसमेत नष्ट भएका छन् ।

क्षतिग्रस्त विद्यालय पुनःस्थापनाको तयारी

बाढीपहिरोबाट प्रभावित धादिङका विद्यालयमा स्थानीय तह, शिक्षक, अभिभावक तथा समाजसेवीहरूको सहकार्यमा सरसफाइ र पुनःस्थापनाको काम भइरहेको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ, धादिङले बाढीबाट नष्ट भएका पाठ्यपुस्तक पुनः उपलब्ध गराउन सम्बन्धित निकायमा पत्राचार गरिसकेको जनाएको छ ।

केही विद्यालयमा वैकल्पिक स्थानबाट पठनपाठन सञ्चालन गर्ने तयारी भइरहेको छ । बुद्धिविकास आधारभूत विद्यालयका विद्यार्थीलाई चन्द्रोदय माध्यमिक विद्यालयमा स्थानान्तरण गरी पठनपाठन सञ्चालन गर्ने तयारी गरिएको छ ।

बाढीपहिरोबाट प्रभावित धादिङका विद्यालयमा खानेपानी, सडक, शौचालय, विद्युत्, कक्षाकोठा तथा अन्य शैक्षिक पूर्वाधारको तत्काल मर्मत तथा पुनःनिर्माण आवश्यक देखिएको छ । स्रोत तस्वीरः प्रकाश मल्ल