धादिङ । हालै आएको बाढी तथा पहिरोबाट प्रभावित धादिङ, रसुवा, नुवाकोटलगायत जिल्लाका नागरिकको राहत तथा पुनःस्थापनाका लागि धादिङ मुस्लिम समुदाय र मदरसा हनफिया रजवियाको संयुक्त आह्वानमा १ लाख ३४ हजार २०१ रुपैयाँ सहयोग संकलन गरिएको छ ।
धादिङबेसी बजारका मुस्लिम समुदायको अगुवाइमा सञ्चालन गरिएको राहत रकम संकलन अभियानबाट उक्त रकम जुटाइएको हो । समुदायका दाजुभाइ, दिदीबहिनी, स्थानीय व्यवसायी तथा शुभचिन्तकहरूबाट सहयोग रकम संकलन गरिएको धादिङ मुस्लिम समुदायले जनाएको छ ।
संकलित रु. १,३४,२०१ रकम बाढी–पहिरोपीडितको राहतका लागि नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिएको छ ।
समुदायले जारी गरेको विज्ञप्तिअनुसार, संकलित रकम राष्ट्रिय वाणिज्य बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक खातामा जम्मा गरिएको हो । बैंक भौचरमा समेत उक्त रकम कोषको खातामा जम्मा गरिएको देखिन्छ।
विज्ञप्तिमा बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ । साथै विपद्को कठिन अवस्थामा प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूको राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको उल्लेख छ ।
छोटो समयमै राहत अभियान सफल बनाउन आर्थिक सहयोग गर्ने धादिङबेसीका सम्पूर्ण दाता, मुस्लिम समुदायका दाजुभाइ–दिदीबहिनी, स्थानीय व्यवसायी तथा शुभचिन्तकहरूलाई धादिङ मुस्लिम समुदाय र मदरसा हनफिया रजविया परिवारले धन्यवाद व्यक्त गरेको छ ।
