
धादिङ । लायन्स क्लब अफ काठमाडौँ सुर्यमुखी र लायन्स क्लब अफ धादिङ भैरवीले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–७, अकरेका १०० घरपरिवारलाई राहत सामग्री वितरण गरेका छन् ।
लायन्स क्लब अफ काठमाडौँ सुर्यमुखीको आयोजना तथा शीतल छहारी संस्थाको सह–आयोजनामा बाढी प्रभावित परिवारलाई खाद्यान्न तथा हाइजिन किटसहितको राहत सामग्री वितरण गरिएको हो ।
सम्बन्धित वडाका वडा अध्यक्ष तथा स्थानीय प्रहरी चौकीका इन्चार्जको रोहबरमा प्रभावित १०० घरपरिवारलाई राहत सामग्री वितरण गरिएको आयोजकले जनाएको छ ।
बाढीबाट पीडित नागरिकको दुःखद अवस्थामा थोरै भए पनि मानवीय सहयोग पुर्याउने उद्देश्यले राहत वितरण गरिएको लायन्स क्लब अफ काठमाडौँ सुर्यमुखीका अध्यक्ष लायन राजाराम रिजालले बताए ।
के–के थियो राहत प्याकेजमा ?
प्रत्येक परिवारलाई खाद्यान्न तथा आवश्यक सामग्रीसहितको एक–एक राहत प्याकेज वितरण गरिएको थियो ।
राहत प्याकेजमा १५ किलो चामल, १ किलो नुन, १ प्याकेट तेल, १ प्याकेट सोयाबिन, १ किलो दाल, १ किलो चाउचाउ, १ थान म्याट्रेस र १ केस पानी लगायतका सामग्री समावेश गरिएको थियो ।
यसरी तयार पारिएका १०० थान राहत प्याकेज १०० घरपरिवारलाई वितरण गरिएको आयोजकले जनाएको छ ।
राहत वितरणमा लायन्सका पदाधिकारीको सहभागिता
राहत वितरण कार्यक्रममा डिस्ट्रीक्ट डिपार्टमेन्ट चिफ लायन कृष्णबहादुर पौडेल, रिजन चियर पर्सन लायन कृष्णप्रसाद ढकाल, जोन चियर पर्सन लायन बद्री अधिकारीलगायतको सहभागिता रहेको थियो ।
त्यस्तै, लायन्स क्लब अफ काठमाडौँ सुर्यमुखीका अध्यक्ष लायन राजाराम रिजाल, सचिव लायन सुदर्शन गोम्जा, लायन्स क्लब अफ धादिङ भैरवीका अध्यक्ष लायन प्रकाश सापकोटा र प्रथम उपाध्यक्ष लायन यामबहादुर श्रेष्ठलगायत सहभागी थिए ।
बाढीपहिरोबाट प्रभावित परिवारलाई तत्काल आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउँदै विपत्तिको समयमा मानवीय सहयोग पुर्याउने उद्देश्यले राहत वितरण गरिएको आयोजकले जनाएको छ ।
