चरौदी–घ्याल्चोक जोड्ने झोलुङ्गे पुल बाढीले बगायो

Avatar photo
Dhadingpost
भदौ १४, २०८३

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौदी र गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुल बाढीले बगाएको छ ।

त्रिशूली नदीमा आएको बाढीका कारण दुई जिल्लालाई जोड्ने महत्वपूर्ण झोलुङ्गे पुल बगेपछि स्थानीयवासीको आवतजावत प्रभावित भएको छ । पुल बगेसँगै चरौँदी र घ्याल्चोकबीच दैनिक आवतजावत तथा आवश्यक सामग्री ओसारपसारमा समेत समस्या उत्पन्न भएको छ ।

पुल बगेको जानकारी पाएपछि प्रहरीले घटनास्थलमा पुगेर अवस्थाको निरीक्षण गरेको छ। प्रहरीले नदी आसपासका क्षेत्रमा थप जोखिम हुन सक्ने भन्दै स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ ।

तुइन विस्थापन गरी बनाइएको थियो पुल

चरौँदी–घ्याल्चोक जोड्ने उक्त झोलुङ्गे पुल तुइन विस्थापन गर्ने योजनाअन्तर्गत निर्माण गरिएको पुल हो। उपलब्ध पुराना समाचारअनुसार पुल निर्माणको काम २०७३ मंसिर २६ गतेबाट सुरु भएको थियो ।

निर्माण सुरु हुँदा पुल निर्माण सम्पन्न गर्ने म्याद २०७४ असोज १५ गते तोकिएको थियो। निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेको विषयमा त्यसबेलाका समाचारमा उल्लेख गरिएको छ ।

पुल निर्माणपछि धादिङको चरौँदी र गोरखाको घ्याल्चोकबीच त्रिशूली नदी वारपार गर्न स्थानीयलाई सहज भएको थियो। अहिले बाढीले पुल नै बगाएपछि दुई जिल्लाका स्थानीय पुनः नदी वारपारको समस्यामा परेका छन् ।