
धादिङ । धादिङ गंगाजमुना गाउँपालिका–फुलखर्क घर भई काठमाडौंमा पर्यटन व्यवसाय गर्दै आएका युवा उद्यमी अनिल अधिकारीले बाढीपीडितका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् ।
Glorious Eco Trek Nepal का २६ वर्षीय युवा उद्यमी अधिकारीले विपद्मा परेका नागरिकको राहत तथा उद्धारका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।
देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायतका प्राकृतिक विपद्का कारण नागरिक प्रभावित भइरहेका बेला आफूले पनि सामाजिक उत्तरदायित्व बहन गर्दै सहयोग गरेको अधिकारीले बताए ।
“विपद्को समयमा हामी युवाहरू झनै जिम्मेवार बन्नुपर्छ भन्ने आत्मबोध भयो । त्यसैले आफूले सकेको सहयोग गरेको हुँ,” अधिकारीले भने ।
अधिकारी पर्यटन व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन् । उनले यसअघि धादिङका ३०० भन्दा बढी चेपाङ बालबालिकालाई विद्यालय पोसाक वितरण गरेका थिए ।
समुदायमा शिक्षा तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका अधिकारीले आगामी दिनमा पनि आफ्नो क्षमताले भ्याएसम्म सामाजिक कार्यलाई निरन्तरता दिने बताएका छन् ।
युवा उद्यमी अधिकारीले गरेको सहयोगले विपद्का कारण समस्यामा परेका नागरिकको राहत तथा उद्धारमा केही भए पनि योगदान पुग्ने विश्वास गरिएको छ ।
