धादिङका सरोज थापाद्वारा बाढीपीडितका लागि १ लाख २५ हजार सहयोग, लेदो पन्छाउन १०० साबेल

Avatar photo
Dhadingpost
भदौ १२, २०८३

धादिङ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३ निवासी सरोज थापाले बाढीपीडितका लागि १ लाख २५ हजार रुपैयाँ सहयोग गरेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा हाल साउदी अरबमा रहेका थापाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र अन्तर्राष्ट्रिय धादिङ समाजमार्फत उक्त सहयोग गरेका हुन् ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख रुपैयाँ र अन्तर्राष्ट्रिय धादिङ समाजमार्फत २५ हजार रुपैयाँ गरी बाढीपीडितका लागि कुल १ लाख २५ हजार रुपैयाँ सहयोग गरेका थापाले गलौदी सडकमा लेदो पन्छाउन थप १०० वटा साबेल उपलब्ध गराएका छन् ।

यसैगरी, बाढीका कारण सडकमा थुप्रिएको लेदो पन्छाएर यातायात सञ्चालन सहज बनाउन थापाले गजुरीस्थित गलौदी सडकका लागि १०० वटा साबेल समेत सहयोग गरेका छन् ।

थापा अन्तर्राष्ट्रिय धादिङ समाज साउदी अरबका संयोजक हुन् । विदेशमा रहेर पनि गृहजिल्ला धादिङमा बाढी तथा प्राकृतिक विपद्का कारण परेको समस्यामा आफ्नो तर्फबाट सहयोग पुर्‍याउने उद्देश्यले उनले उक्त सहयोग गरेका हुन् ।

पछिल्लो समय भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण धादिङका विभिन्न क्षेत्रमा सडक तथा पुलमा क्षति पुगेको छ । बाढीपछि सडकमा थुप्रिएको लेदो तथा माटोका कारण विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको अवस्थामा त्यसलाई हटाउन आवश्यक पर्ने औजारका रूपमा थापाले गलौदी सडकका लागि साबेल उपलब्ध गराएका हुन् ।

विदेशमा रहेर पनि धादिङमा आइपरेको विपद्का बेला सहयोग गरेका थापाको यो सहयोगले बाढीपीडितलाई राहत पुर्‍याउनुका साथै प्रभावित सडकमा थुप्रिएको लेदो हटाउन र यातायात सञ्चालन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।