
धादिङ । पृथ्वी राजमार्गमा यातायातका साधन रोकिँदा अलपत्र परेका यात्रुहरूका लागि गजुरीका युवाहरूले निःशुल्क भोजनको व्यवस्था गरेका छन् ।
राजमार्गमा रोकिएका यात्रुहरूलाई लक्षित गरी युवाहरूले आज बिहान गजुरी बिगमार्टको प्राङ्गणमा निःशुल्क भोजन गराएका छन् । बिहानको भोजनमा २६० जनाभन्दा बढी यात्रु सहभागी भएको मिलन डल्लाकोटीले धादिङपोष्टलाई जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङका नेता तथा गजुरी गाउँपालिका सभापति समेत रहेका डल्लाकोटीका अनुसार यात्रुहरूलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको निःशुल्क भोजन अभियानमा गजुरीका अधिकांश युवाहरू जोडिएका छन् ।
आज पनि पृथ्वी राजमार्ग खुल्ने सम्भावना नदेखिएपछि बेलुकाका लागि समेत निःशुल्क भोजनको व्यवस्था गरिएको डल्लाकोटीले बताए । उनले राजमार्गमा रोकिएका यात्रुहरूलाई बेलुकाको भोजन कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।

भोटेकोसीमा आएको बाढी तथा सडक र पुलमा पुगेको क्षतिका कारण हिजोदेखि नै पृथ्वी राजमार्गमा सयौँ सवारीसाधन रोकिएर यात्रुहरू अलपत्र पर्न बाध्य भएका छन् ।
लामो समयसम्म राजमार्गमा रोकिएका यात्रुहरूलाई खानाको समस्या नहोस् र विपद्को समयमा केही सहज होस् भन्ने उद्देश्यले गजुरी बिगमार्टको प्राङ्गणमा निःशुल्क भोजनको व्यवस्था गरिएको डल्लाकोटीले बताए ।
विपद्को समयमा यात्रु तथा प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले स्थानीय युवाहरूले स्वस्फूर्त रूपमा थालेको यो अभियानमा गजुरीका युवाहरूको उल्लेख्य सहभागिता रहेको छ ।
