धादिङबेसी जोड्ने वैकल्पिक सडक सुधारको काम आजदेखि, पाँच स्थानमा स्वास्थ्य शिविर सञ्चालन हुने

Avatar photo
Dhadingpost
भदौ ११, २०८३

धादिङ । फुर्केखोलास्थित पक्की पुल भोटेकोसी बाढीले बगाएपछि अवरुद्ध धादिङबेसीको यातायात सञ्चालन गर्न वैकल्पिक सडक सुधारको काम आजदेखि सुरु हुने भएको छ ।

प्रधानमन्त्री कार्यालयको निर्देशनमा सडक विभागले मासटार पारीदेखि परेवाटारसम्मको सडकमा ग्राभेलसहित बाटो सुचारु गर्ने काम आज बिहान १० बजेदेखि सुरु गर्न लागेको जानकारी प्राप्त भएको छ ।

यसअघि परेवाटार–गजुरीटार–पिपलटार–अमनटार–आदमटार–बेलिनटार–क्यूरेनीटार हुँदै मासटार जोडिने करिब २० किलोमिटर वैकल्पिक सडकलाई तत्काल सुधार गरी धादिङबेसीसम्म यातायात सञ्चालन गर्न सकिने विषयमा स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।

वैकल्पिक सडकका विभिन्न स्थानमा आवश्यक सुधार, लेदो हटाउने, बिग्रिएका भाग मर्मत गर्ने तथा आवश्यक ठाउँमा ग्राभेल गर्ने काम अघि बढेपछि नयाँ पुल निर्माण नहुँदासम्म धादिङबेँसीसँगको यातायात सम्पर्क सहज हुने अपेक्षा गरिएको छ ।

यसैबीच, सरकारले उपलब्ध गराउने स्वास्थ्य सेवासहितको राहत प्याकेज पनि आजै धादिङ आइपुग्ने भएको छ ।

प्राप्त जानकारीअनुसार बाढीपहिरो प्रभावित तथा जोखिममा रहेका नागरिकलाई लक्षित गरी गल्छी, घाटबेँसी, गजुरी, मलेखु र बेनिघाट गरी पाँच स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी भइरहेको छ ।

स्वास्थ्य शिविरमार्फत विपदबाट प्रभावित नागरिकलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने तथा राहत सामग्री वितरण गर्ने तयारी गरिएको जनाइएको छ ।

बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि यातायात र दैनिक जनजीवन प्रभावित भइरहेका बेला वैकल्पिक सडक सञ्चालन तथा स्वास्थ्य सेवा र राहत कार्यक्रम अघि बढाउन लागिएको हो ।

विपद्को यस कठिन समयमा स्वास्थ्य शिविर सञ्चालन, राहत वितरण तथा प्रभावित नागरिकलाई आवश्यक सहयोग पुर्‍याउन स्थानीय तह, राजनीतिक दल, संघसंस्था, नागरिक समाज तथा सर्वसाधारण सबैले सक्रिय सहभागिता जनाउनसमेत आग्रह गरिएको छ ।

विपद्मा एकजुट भएर प्रभावित नागरिकको साथमा उभिन र आफ्नो तर्फबाट सक्दो सहयोग तथा पहल गर्न सबैमा अपिल गरिएको छ ।