
धादिङ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले धादिङबेँसी जोड्ने फुर्केखोलास्थित पक्की पुल बगाएपछि धादिङबेँसीसँगको यातायात आवागमन प्रभावित भएको छ । यस्तो अवस्थामा नयाँ पुल निर्माण नहुँदासम्म वैकल्पिक सडकमार्फत यातायात सञ्चालन गर्न सकिने पहल आवश्यक छ ।
धादिङबेँसीबाट करिब २० किलोमिटर दूरीमा रहेको वैकल्पिक सडकलाई तत्काल सुधार गर्न सके यातायात सञ्चालन गर्न सकिने स्थानीयको भनाइ छ ।
वैकल्पिक सडक रुट
परेवाटार–गजुरीटार–पिपलटार–अमनटार–आदमटार–बेलिनटार–क्यूरेनीटार हुँदै मासटारसम्मको सडकलाई तत्काल सुधार गरी धादिङबेँसीसँगको वैकल्पिक यातायात मार्गका रूपमा प्रयोग गर्न सकिने बताइएको छ ।
धादिङबेँसीदेखि परेवाटारसम्मको सडकमा समस्या छैन । तर, परेवाटारबाट गजुरीटारतर्फ जाँदा बीचको सडकखण्डमा त्रिशूली नदीमा आएको बाढीले लेदो तथा माटो जम्मा गरेको छ । उक्त लेदो हटाएपछि बाँकी कच्ची सडकलाई सामान्य सुधारमार्फत सञ्चालन गर्न सकिने बताइएको छ ।
वर्षाका कारण ठाउँ–ठाउँमा बिग्रिएको तथा साँघुरो रहेको कच्ची सडकलाई दुई–तीन वटा जेसीभी मेसिन प्रयोग गरी फराकिलो बनाउने, बिग्रिएका स्थान मर्मत गर्ने र आवश्यक ठाउँमा ग्राभेल गर्ने हो भने एकै दिनमा सडक सञ्चालनमा ल्याउन सकिने स्थानीयको दाबी छ ।
परेवाटारका पुष्प थपलिया र आदमघाटका जगत रिजालले आवश्यक उपकरण र जनशक्ति परिचालन गर्न सके उक्त सडकलाई एकै दिनमा यातायात सञ्चालनयोग्य बनाउन सकिने बताएका छन् ।
फुर्केखोलाको पुल बाढीले बगाएपछि धादिङबेँसीसँगको नियमित यातायात सम्पर्क प्रभावित भएको अवस्थामा तत्कालका लागि वैकल्पिक सडक सञ्चालन गर्न सके सर्वसाधारण, व्यवसायी तथा अत्यावश्यक सेवाका लागि सहज हुने स्थानीयको भनाइ छ ।
यसका लागि जिल्लाका संघीय सांसद, प्रदेश सांसद, स्थानीय सरकार तथा सम्बन्धित अन्य सरोकारवाला निकायले तत्काल ध्यान दिनुपर्ने माग गरिएको छ । नयाँ पुल निर्माण हुन समय लाग्ने भएकाले त्यस अवधिसम्म वैकल्पिक सडकलाई व्यवस्थित गरी यातायात सञ्चालनमा ल्याउनु आवश्यक रहेको स्थानीयको जोड छ ।
भोटेकोसी बाढीपछि अवरुद्ध भएको यातायातलाई वैकल्पिक मार्गबाट सञ्चालन गर्न सके धादिङबेँसी क्षेत्रका नागरिकलाई आवतजावत तथा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समेत सहजता पुग्ने अपेक्षा गरिएको छ ।
