अन्तर्राष्ट्रिय धादिङ समाजद्वारा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा जुट्न आग्रह

Avatar photo
Dhadingpost
भदौ १०, २०८३

धादिङ अन्तर्राष्ट्रिय धादिङ समाजले देशका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको उद्धार, राहत र सुरक्षित स्थानान्तरणमा जुट्न सबै पक्षलाई आग्रह गरेको छ ।

समाजले शनिबार (२०८३ भदौ १० गते) प्रेस विज्ञप्ति जारी गर्दै धादिङसहित रसुवा, नुवाकोट, गोरखा र चितवन जिल्लाका विभिन्न क्षेत्रमा बाढीपहिरोका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको हो ।

बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति समाजले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

त्रिशूली नदीलगायत नदी तटीय क्षेत्रमा जोखिम कायमै रहेकाले सम्भावित थप क्षति न्यूनीकरणका लागि तत्काल आवश्यक सावधानी अपनाउन समाजले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

समाजले संघीय, प्रदेश तथा स्थानीय सरकार, सुरक्षा निकाय र सम्बन्धित सबै पक्षलाई प्रभावित क्षेत्रमा उद्धार, राहत, सुरक्षित स्थानान्तरण तथा जोखिम न्यूनीकरणका कामलाई उच्च प्राथमिकताका साथ अघि बढाउन आग्रह गरेको छ ।

त्यस्तै, बाढीपहिरो प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन, सम्बन्धित निकायले जारी गरेका सूचना तथा निर्देशनको पालना गर्न र जोखिमयुक्त नदी तटीय क्षेत्रमा नजान समाजले अनुरोध गरेको छ ।

विपद्को यस कठिन घडीमा देश तथा विदेशमा रहेका सम्पूर्ण धादिङवासी तथा नेपाली समुदायलाई एकजुट भएर प्रभावित नागरिक तथा परिवारको सहयोगमा जुट्न पनि समाजले आह्वान गरेको छ ।

समाजका अध्यक्ष राजन खकुराल र महासचिव बाबुकाजी भण्डारीद्वारा जारी विज्ञप्तिमा विपद् प्रभावित परिवार र समुदायलाई आवश्यक सहयोगका लागि समाज साथमा रहने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यसै विषयमा छलफल तथा आवश्यक निर्णय गर्न अन्तर्राष्ट्रिय धादिङ समाजले आजै नेपाली समयअनुसार साँझ ५ः४५ बजे आपत्कालीन कार्यसमितिको भर्चुअल बैठक बोलाएको छ । बैठकमा बाढीपहिरो प्रभावितको उद्धार, राहत तथा सहयोगका विषयमा आवश्यक छलफल र निर्णय गरिने जनाइएको छ ।