
धादिङ । भोटेकोसी नदीमा आएको आकस्मिक बाढी तथा राजमार्गमा पुगेको क्षतिका कारण बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र मूल्यवृद्धि हुन सक्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङले व्यवसायी र उपभोक्तालाई सचेत रहन अपिल गरेको छ ।
रास्वपा धादिङका सभापति राजन अर्यालले हस्ताक्षर गरेको अपिलमा बाढीका कारण पृथ्वी राजमार्ग क्षेत्रका पुल तथा सडक संरचनामा क्षति पुगेपछि धादिङबेँसीलगायतका क्षेत्रमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने तथा आवश्यकताभन्दा बढी सामान सञ्चय गर्ने प्रवृत्ति देखिन थालेको भन्दै ध्यानाकर्षण गराइएको छ ।
रास्वपाले विपद्को समयमा बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने वा उपभोक्तामाथि अनुचित मूल्यको भार थप्ने कार्य नगर्न व्यवसायीहरूलाई आग्रह गरेको छ ।
अपिलमार्फत व्यवसायीहरूलाई सामाजिक उत्तरदायित्व र मानवीय संवेदनशीलतालाई ध्यानमा राख्दै दैनिक उपभोग्य वस्तुहरू उचित मूल्यमा बिक्री–वितरण गर्न अनुरोध गरिएको छ ।
त्यस्तै, आमउपभोक्तालाई पनि आवश्यकताभन्दा बढी खाद्यान्न तथा अन्य उपभोग्य सामग्री सञ्चय नगर्न र बजारमा अस्वाभाविक रूपमा मूल्य बढाएर बिक्री गरेको पाइएमा सम्बन्धित निकायमा तत्काल जानकारी गराउन रास्वपाले आग्रह गरेको छ ।
भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा लगायतका नदीतटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति रास्वपाले दुःख व्यक्त गरेको छ ।
विपद्का कारण सडक तथा पुलहरूमा क्षति पुगेको अवस्थामा आपूर्ति व्यवस्थामा समस्या आउन सक्ने भए पनि त्यसलाई आधार बनाएर कृत्रिम अभाव र कालोबजारी गर्न नहुने रास्वपाको भनाइ छ ।
“विपद्को समयमा नाफाभन्दा मानवता ठूलो हो,” भन्दै रास्वपा धादिङले संकटको समयमा सबै पक्षले एक–अर्कालाई सहयोग र सहकार्य गर्न अपिल गरेको छ ।
रास्वपाले विपद्को समयमा आवश्यक वस्तुको सहज आपूर्ति, उचित मूल्य र उपभोक्ताको हित संरक्षणका लागि सम्बन्धित निकायले समेत बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ ।
