फुर्के खोलाको पुल बगाएसँगै धादिङबेँसीका खाद्यान्न पसलमा भिड

Avatar photo
Dhadingpost
भदौ १०, २०८३

धादिङ । मलेखु–फुर्केखोलामा रहेको पुल त्रिशूली नदीमा आएको बाढीले बगाएसँगै धादिङबेँसीका खाद्यान्न पसलमा उपभोक्ताको भिड बढेको छ ।

मलेखु र घाटबेँसीका पुलसमेत बाढीले बगाएपछि धादिङबेँसीतर्फ हुने खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्रीको ढुवानी प्रभावित हुने आशंकामा उपभोक्ता खाद्यान्न जोहो गर्न पसलमा पुगेका हुन् ।

धादिङबेँसीका कतिपय पसलमा चामललगायत खाद्यान्न सकिन थालेको व्यवसायीहरूले बताएका छन् । ठूला खाद्यान्न पसलहरूमा समेत दैनिक आवश्यक सामग्री खरिद गर्ने ग्राहकको लामो भिड देखिएको छ ।

पुलहरू बगाएपछि मलेखु हुँदै धादिङबेँसी आउने मुख्य सडकमार्ग प्रभावित भएको छ । सडकमार्ग सहज नभएसम्म धादिङबेँसीमा खाद्यान्न तथा अन्य दैनिक उपभोग्य सामग्रीको आपूर्ति प्रभावित हुनसक्ने देखिएको छ ।

फुर्के खोलामा पुल पुनर्निर्माण नभएसम्म बेनीघाट रोराङबाट आरुघाट हुँदै धादिङबेँसी पुग्नुपर्ने घुमाउरो बाटो प्रयोग गर्नुपर्ने अवस्था आएको छ । यसले खाद्यान्न तथा अन्य सामग्रीको ढुवानीमा समय र लागत दुवै बढाउने व्यवसायीहरूको चिन्ता छ ।

पुल बगेसँगै बजारमा खाद्यान्न अभाव हुने त्रास बढेपछि सर्वसाधारणले आवश्यकताभन्दा बढी सामग्री खरिद गर्न थालेका कारण कतिपय पसलमा भीड बढेको हो । सम्बन्धित निकायले सडक तथा पुलको अवस्था र खाद्यान्न आपूर्तिबारे तत्काल आवश्यक समन्वय गर्नुपर्ने देखिएको छ ।