
धादिङ । धादिङको शैक्षिक गुणस्तर तथा विद्यार्थीको सिर्जनात्मक क्षमता विकासमा योगदान गर्दै आएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) धादिङले विद्यालयस्तरीय चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्याब्सन धादिङको आयोजनामा २०८३ भदौ ६ गते चित्रकला प्रतियोगिता सञ्चालन हुने भएको हो । प्रतियोगिता बेनीघाट रोराङ गाउँपालिका–स्थित राइजिङ स्टार बोर्डिङ स्कुलमा आयोजना गरिने प्याब्सन धादिङले जनाएको छ ।
विद्यार्थीहरूमा रहेको कलात्मक प्रतिभा पहिचान तथा प्रस्फुटन गराउने, सिर्जनात्मक सोचको विकास गर्ने र विद्यालयहरूबीचको आपसी सम्बन्ध तथा प्रतिस्पर्धात्मक वातावरणलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
हाल प्याब्सन धादिङमा २८ वटा निजी तथा आवासीय विद्यालय आबद्ध रहेका छन् । ती विद्यालयमा यस शैक्षिक वर्षमा १३ हजार २१२ विद्यार्थी अध्ययनरत छन् ।
प्याब्सन धादिङले शैक्षिक गतिविधिसँगै विद्यार्थीको अतिरिक्त तथा सिर्जनात्मक क्षमता विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । चित्रकला प्रतियोगिताले विद्यार्थीको कला, कल्पना र सिर्जनशीलतालाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
