
धादिङ । बेनीघाट रोराङ गाउँपालिकाले दोस्रो पञ्चवर्षीय गाउँ शिक्षा योजना निर्माणका लागि वडा नम्बर १ स्थित सम्भावित पर्यटकीय क्षेत्र ब्रोम्दिङ डाँडामा गाउँ शिक्षा सम्मेलन आयोजना गर्ने भएको छ ।
भदौ ५ र ६ गते आयोजना हुने सम्मेलनमा गाउँपालिकाको आगामी पाँच वर्षको शिक्षा क्षेत्रको योजना, प्राथमिकता र सुधारका विषयमा व्यापक छलफल गरिनेछ ।
गाउँपालिकाका शिक्षा अधिकृत सन्तोष पौडेलका अनुसार, शिक्षा योजना निर्माणसँगै ब्रोम्दिङ डाँडाको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने उद्देश्यले सम्मेलनको स्थलका रूपमा ब्रोम्दिङ डाँडालाई छनोट गरिएको हो । शिक्षा क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण छलफललाई पर्यटकीय सम्भावना बोकेको स्थानसँग जोडेर स्थानीय क्षेत्रको प्रचार–प्रसारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।
गाउँ शिक्षा सम्मेलनमा विद्यालय शिक्षाको गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि, शिक्षकको क्षमता विकास तथा विद्यालयको भौतिक र शैक्षिक पूर्वाधार सुधार लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
त्यस्तै, विद्यालयको समग्र शैक्षिक वातावरण सुधार, विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउने उपाय तथा स्थानीय आवश्यकता र सम्भावनालाई समेटेर आगामी शिक्षा योजना निर्माण गर्ने विषयमा सहभागीबीच सुझाव तथा विचार आदानप्रदान गरिनेछ ।
गाउँ शिक्षा सम्मेलनमा शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि तथा शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहनेछ ।
भदौ ५ र ६ गते ब्रोम्दिङमा हुने सम्मेलनबाट प्राप्त सुझाव, छलफल तथा निष्कर्षका आधारमा बेनीघाट रोराङ गाउँपालिकाको दोस्रो पञ्चवर्षीय गाउँ शिक्षा योजना निर्माण गरिने शिक्षा अधिकृत पौडेलले बताए ।
२०८० सालमा पनि ब्रोम्दिङ डाँडाको प्रचारप्रसार गर्न ‘पर्यटन महोत्सव’ आयोजना गरिएको थियो । उक्त महोत्सवको उद्घाटन तात्कालिन बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले गरेका थिए ।
झण्डै २१ सय मिटर उचाईमा रहेको ब्रोम्दिङबाट गणेश हिमाल, मनास्लु लगायतका हिमश्रृङ्खला स्पष्टसँग देख्न पाइन्छ । तामाङ बस्तीको बाहुल्यता रहेको ब्रोम्दिङ स्थानीय परिकार र उत्पादनले पनि भरिपूर्ण ठाउँ हो । राजधानी काठमाडौँबाट चार घण्टाको मोटर यात्रामै पुग्न सकिन्छ । ब्रोम्दिङमा शैलुङमा देखिने स–साना डाँडा भएका थुम्का छन् भने दामनको जस्तो चिसो मौसम पाइन्छ ।
बेनीघाट रोराङको विशालटारबाट ३० किलोमिटर उकालो लागेपछि पुगिने ब्रोम्दिङ र थमभञ्ज्याङ स्थानीय रुपमा उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा लिन सकिन्छ ।
