
धादिङ । गल्छी गाउँपालिका–स्थित श्री बागेश्वरी माध्यमिक विद्यालयमा सामग्रीमा आधारित शिक्षण विधिबारे अभिमुखीकरण तथा कार्यशाला सम्पन्न भएको छ ।
IBSE परियोजनाअन्तर्गत आयोजित Cluster Level OM Workshop मा शिक्षकहरूलाई कक्षाकोठामा स्थानीय तथा उपलब्ध सामग्रीको प्रयोगमार्फत शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउने विषयमा अभिमुखीकरण गरिएको हो ।
कार्यशालामा शिक्षण सिकाइमा प्रयोग गर्न सकिने विभिन्न सामग्रीको पहिचान, निर्माण तथा प्रयोगका विषयमा छलफल र अभ्यास गरिएको परियोजनाका नबराज पाठकले बताए । सामग्रीको प्रयोगबाट विद्यार्थीलाई सिकाइ प्रक्रियामा सक्रिय सहभागी गराउँदै अवधारणालाई व्यवहारिक रूपमा बुझाउन सकिने विषयमा समेत जोड दिइएको थियो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ, धादिङका प्रमुख कृष्ण कुमार श्रेष्ठ, LEU प्रमुख धीरज बस्नेत, सहायक LEU अधिकृत टी.एन. ढुंगाना तथा बागेश्वरी माध्यमिक विद्यालयकी प्रधानाध्यापक ज्ञानु थापा लगायतले सहजिकरण गरेका थिए ।
त्यस्तै, आरटी प्रकाश मल्ल र सन्तोष श्रेष्ठ लगायत प्रशिक्षक तथा शिक्षकहरूको सहभागिता रहेको थियो ।
कार्यशालामा सहभागी शिक्षकहरूले सामग्रीमा आधारित शिक्षण विधि तथा त्यसको कक्षाकोठामा प्रयोगबारे अभ्याससमेत गरेका थिए । यस्तो अभ्यासले शिक्षकहरूको पेसागत विकाससँगै विद्यार्थीको सिकाइलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
IBSE परियोजनाअन्तर्गत विद्यालय तहमा शिक्षकको पेसागत विकास, प्रभावकारी शिक्षण विधिको प्रयोग तथा विद्यार्थीको सिकाइ उपलब्धि सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।
