एडभान्समा दुईदिने तेक्वान्दो ग्रेडिङ सम्पन्न, २२० भन्दा बढी फर्स्ट डान खेलाडी उत्पादन

Avatar photo
Dhadingpost
साउन २८, २०८३

धादिङबेसी । धादिङ जिल्लामा उत्कृष्ट विद्यालयका रूपमा परिचित एडभान्स एकाडेमीमा कक्षा ४ देखि ८ सम्म अध्ययनरत विद्यार्थी खेलाडीहरूको दुईदिने तेक्वान्दो ग्रेडिङ सम्पन्न भएको छ ।

विभिन्न बेल्ट तहका लागि सञ्चालन गरिएको ग्रेडिङमा सफल सम्पूर्ण विद्यार्थी खेलाडीलाई विद्यालयका संस्थापक अध्यक्ष अजितकुमार श्रेष्ठले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

ग्रेडिङ कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका विद्यालयका तेक्वान्दो गुरु मारियम तामाङ र अञ्जना गुरुङलाई विद्यालय परिवारले विशेष धन्यवाद व्यक्त गरेको छ ।

कक्षा ४ देखि ८ सम्म तेक्वान्दो अनिवार्य

एडभान्स एकाडेमीले कक्षा ४ देखि ८ सम्मका विद्यार्थीका लागि तेक्वान्दो खेललाई अनिवार्य रूपमा सञ्चालन गर्दै आएको जनाएको छ । विद्यालयका अनुसार हालसम्म २२० जनाभन्दा बढी फर्स्ट डान खेलाडी उत्पादन भइसकेका छन् ।
विद्यालयले तेक्वान्दो प्रशिक्षणले विद्यार्थीमा अनुशासन, आत्मविश्वास र शारीरिक तन्दुरुस्ती विकास गर्न सहयोग पुर्‍याएको जनाएको छ । नियमित खेलकुद गतिविधिले विद्यार्थीको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव परेको विद्यालयको अनुभव छ ।

जिल्लादेखि अन्तर्राष्ट्रिय प्रतियोगितासम्म सफलता

पढाइसँगै अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएको एडभान्स एकाडेमीका विद्यार्थीहरूले तेक्वान्दोमार्फत जिल्लास्तरीय, प्रदेशस्तरीय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सफलता हासिल गर्दै आएका छन् ।

विद्यालयले खेलकुद र शिक्षालाई सँगसँगै अघि बढाउँदै विद्यार्थीको सर्वाङ्गीण विकासमा निरन्तर प्रयास गरिरहेको जनाएको छ । विद्यालयका अनुसार तेक्वान्दोजस्ता खेल गतिविधिले विद्यार्थीमा शारीरिक क्षमता मात्र नभई अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकासमा समेत योगदान पुर्‍याउँछ ।