
धादिङ । नेपालको होरा ईस्पोर्ट्स फ्रान्सको पेरिसमा जारी ईस्पोर्ट्स विश्वकपअन्तर्गत पब्जी मोबाइल विश्वकपको फाइनलमा प्रवेश गरेको छ। समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै होराले फाइनलमा स्थान सुरक्षित गरेको हो।
आइतबार सम्पन्न समूह ‘बी’ का खेलपछि होरा चौथो स्थानमा रहँदै फाइनलमा पुगेको हो। १६ टोली सहभागी समूह ‘बी’ बाट उत्कृष्ट पाँचभित्र पर्न सफल हुँदै होराले ५७ हजार ५०० अमेरिकी डलर (करिब ७७ लाख रुपैयाँ) नगद पुरस्कारसमेत पक्का गरेको छ।
समूह चरणमा होराले एक ‘चिकेन डिनर’सहित कुल ९८ अंक जोडेको थियो। जसमा ३७ प्लेसमेन्ट पोइन्ट र ६१ किल्स रहेका छन्।
समूह चरणको पहिलो दिन होरा ५९ अंकसहित तेस्रो स्थानमा रहेको थियो। दोस्रो दिन भने उसले थप ३९ अंक जोड्दै कुल ९८ अंक पुर्याएको हो।
समूह ‘बी’ बाट भाइटालिटी शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ। यस्तै आईडीए, एसटुजी, होरा र गडलाइक पनि शीर्ष पाँचमा रहँदै फाइनलमा प्रवेश गरेका छन्।
यसअघि समूह ‘ए’ बाट पाकिस्तानको फोर थ्राइभ, भारतको ओरानगुटान, मंगोलियाको अउरोरा, भियतनाम/सिंगापुरको टिम फ्ल्यास र मिडल इस्टको निग्मा ग्यालेक्सी शीर्ष पाँचमा रहँदै फाइनलमा स्थान बनाइसकेका छन्।
अब दुवै समूहका छैटौँदेखि १३औँ स्थानसम्म रहेका ८–८ गरी कुल १६ टोलीले अगस्ट ११ र १२ मा सर्भाइभल स्टेजमा प्रतिस्पर्धा गर्नेछन्। सर्भाइभल स्टेजबाट उत्कृष्ट ६ टोलीले ग्रान्ड फिनालेमा स्थान बनाउनेछन्।
दुवै समूहका अन्तिम तीन स्थानमा रहेका कुल ६ टोली भने प्रतियोगिताबाट बाहिरिएका छन्।
नेपालको होरा ईस्पोर्ट्सको फाइनल प्रवेशसँगै अन्तर्राष्ट्रिय ईस्पोर्ट्स प्रतियोगितामा नेपाली टोलीको प्रदर्शनप्रति थप चासो बढेको छ। अब होराले पब्जी मोबाइल विश्वकपको ग्रान्ड फिनालेमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
