धादिङ । धादिङ उद्योग वाणिज्य संघले जिल्लाको प्रतिष्ठित व्यवसायिक संस्था दुवाडी एग्रोभेटमा हालै भएको खानतलासी घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघले शनिबार विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा व्यवसायीको सम्मान र अधिकारको संरक्षण गर्न सम्बन्धित निकायसँग माग गरेको हो ।
संघका अध्यक्ष रामकुमार डल्लाकोटीद्वारा हस्ताक्षरित विज्ञप्तिमा निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाका रूपमा व्यवसायीलाई जिम्मेवार, पारदर्शी र कानुनसम्मत व्यवसाय सञ्चालनका लागि निरन्तर सचेत गराउँदै आएको उल्लेख गरिएको छ ।
उपभोक्ता अधिकारको सम्मान, कृत्रिम अभाव सिर्जना नगर्ने तथा कालोबजारीमा संलग्न नहुने विषयमा संघ सधैं स्पष्ट रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा कानुनको सर्वोच्चता र विधिको शासनबाट मात्रै स्वस्थ व्यवसायिक वातावरण निर्माण हुने उल्लेख गर्दै कानुन कार्यान्वयन गर्ने निकायलाई संघले आवश्यक सहयोग गर्दै आएको जनाइएको छ । तर कानुनी प्रक्रिया अपनाउँदा व्यवसायीको सम्मान, गोपनीयता र मानव अधिकारको समेत संरक्षण हुनुपर्नेमा जोड दिइएको छ ।
संघका अनुसार, असार २५ गते धादिङका प्रतिष्ठित व्यवसायी, ठूला करदाता, कृषि तथा भेटेरिनरी व्यवसाय सञ्चालन गर्दै आएका दुवाडी एग्रोभेटका सञ्चालक तथा संघका पूर्वअध्यक्ष बोधनाथ दुवाडीको व्यवसायिक प्रतिष्ठानमा गरिएको खानतलासी र त्यसक्रममा देखिएको व्यवहारले जिल्लाका व्यवसायीहरूमा त्रास र अन्योल सिर्जना गरेको छ ।
विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिन गरी दोषी देखिए कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गर्दै अनुसन्धान वा खानतलासीका क्रममा प्रचलित कानुन, स्थापित प्रक्रिया र व्यक्तिको सम्मानको पूर्ण पालना गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
संघले कानुनी प्रक्रियाको नाममा कुनै पनि व्यवसायीलाई अनावश्यक दुःख दिने, अपमानित गर्ने, गोपनीयता भंग गर्ने वा त्रास सिर्जना गर्ने कार्य लोकतान्त्रिक मूल्य र कानुनी शासनको भावना विपरीत हुने उल्लेख गरेको छ ।
व्यवसायीहरूले सुरक्षित, सम्मानजनक र भयमुक्त वातावरणमा व्यवसाय सञ्चालन गर्न पाउने संवैधानिक अधिकारको संरक्षण गर्न राज्यका सबै निकाय जिम्मेवार बन्नुपर्ने संघको भनाइ छ । आगामी दिनमा यस्ता घटना नदोहोरिने गरी संवेदनशील र जिम्मेवार ढंगले कानुनी प्रक्रिया अघि बढाउन पनि संघले सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।
धादिङ उद्योग वाणिज्य संघले व्यवसायीहरूको हक, हित, सुरक्षा र सम्मानको संरक्षणका लागि सधैं प्रतिबद्ध रहने उल्लेख गर्दै आवश्यक परे व्यवसायीको पक्षमा थप पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।
