
धादिङ । धादिङबेसीस्थित ऐतिहासिक भैरवी मन्दिरको नाममा रहेको गुठी जग्गाको साँध–सिमाना छुट्याउने कार्य प्रमुख जिल्ला अधिकारीको अनुरोधपछि केही दिनका लागि स्थगित गरिएको छ ।
भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर श्रेष्ठका अनुसार नापी कार्यालयका प्राविधिकसहित धादिङबेसीको पुछार बजार र सिरान बजार क्षेत्रमा रहेको गुठी जग्गाको साँध–सिमाना छुट्याउने तयारी पूरा भए पनि प्रमुख जिल्ला अधिकारीले थप अध्ययन गर्न समय मागेपछि बुधबारदेखि सुरु हुने भनिएको काम रोकिएको हो ।
“हामी नापीका प्राविधिक लिएर आजै साँध–सिमाना छुट्याउन आएका थियौं । तर प्रमुख जिल्ला अधिकारीज्यूले ‘केही दिन पर्खनुस्, म थप अध्ययन गर्छु’ भन्नुभएकोले आज काम हुन सकेन,” अध्यक्ष श्रेष्ठले बताए ।
समितिका अनुसार भैरवी मन्दिरको सम्पत्ति संरक्षण तथा संवर्द्धनका लागि धादिङबेसीको सिरान बजार र पुछार बजार क्षेत्रमा रहेको साविक नीलकण्ठ–५ ‘घ’ का कित्ता नम्बर १४६ र १४७ तथा साविक नीलकण्ठ–५ ‘च’ का कित्ता नम्बर ३२ र ३३ अन्तर्गत पर्ने गुठी जग्गाको वास्तविक साँध–सिमाना छुट्याउन लागिएको हो ।
समितिले दिएको जानकारीअनुसार विसं २०५३ सालमा उक्त गुठी जग्गामा नक्कली मोही कायम गरी विभिन्न व्यक्तिको नाममा दर्ता गरिएको थियो । पछि विसं २०५६ सालमा सर्वोच्च अदालत ले गुठीको खान्गी जग्गामा मोही कायम हुन नसक्ने फैसला गर्दै त्यस्तो दर्ता बदर गरेको थियो ।
भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका अनुसार धादिङबेसी क्षेत्रमा मन्दिरको करिब १९ रोपनी गुठी जग्गा रहेको छ । अदालतबाट मन्दिरको स्वामित्व कायम हुने आदेश आइसके पनि हालसम्म जग्गा पूर्ण रूपमा मन्दिरको भोगचलनमा आउन नसकेको भन्दै समितिले अब साँध–सिमाना स्पष्ट गरी मन्दिरकै भोगचलनमा ल्याउने तयारी गरेको जनाएको छ ।
ऐतिहासिक महत्व
भैरवी मन्दिर नेपालका राजा राम शाहले विसं १६६६ मा स्थापना गरेका आठ शक्तिपीठमध्ये एक मानिन्छ । मन्दिरको इतिहास नेपालको एकीकरण अभियानसँग समेत जोडिएको विश्वास रहेको छ ।
भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव कृष्णबहादुर श्रेष्ठका अनुसार पृथ्वीनारायण शाह ले नुवाकोट विजयअघि भैरवी मन्दिरमा बास बसेर भाकल गरेको र त्यसपछि विजय प्राप्त गरेको विवरण विभिन्न ऐतिहासिक लेख तथा अभिलेखमा उल्लेख पाइन्छ । समितिको भनाइमा यही ऐतिहासिक महत्वका कारण पनि मन्दिरको गुठी सम्पत्तिको संरक्षण आवश्यक रहेको छ ।
