होटल संघ धादिङका अध्यक्ष र केन्द्रीय सचिवकै होटल कारबाहीमा, खाद्य सुरक्षामा गम्भीर लापरबाही भेटिएपछि जरिवाना

Avatar photo
Dhadingpost
असार २३, २०८३

धादिङ । धादिङमा गरिएको संयुक्त बजार तथा होटल अनुगमनका क्रममा खाद्य सुरक्षासम्बन्धी गम्भीर लापरबाही भेटिएपछि होटल व्यवसायी संघका पदाधिकारीले सञ्चालन गरेका होटलसहित तीन होटललाई जरिवाना गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गठित बजार तथा होटल अनुगमन समितिले बेनीघाट रोराङ गाउँपालिका–३ अन्तर्गतका विभिन्न होटलमा अनुगमन गर्दा सरसफाइ, खाद्य सुरक्षा तथा खाद्य सामग्रीको भण्डारणमा गम्भीर कैफियत भेटिएको जनाएको छ ।

अनुगमनका क्रममा जिल्ला होटल संघ धादिङका अध्यक्ष रामशरण सिलवाल सञ्चालक रहेको होटल तीनभाइ (सितलबजार) मा खाद्य सुरक्षासम्बन्धी मापदण्ड उल्लङ्घन भएको पाइएपछि १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

यस्तै, होटल व्यवसायी संघका केन्द्रीय सचिव सन्तोषकुमार थापा सञ्चालक रहेको सफल होटल (सलाङघाट) को फ्रिजभित्र राखिएको खानेकुरामा किरा भेटिएपछि उक्त होटललाई २५ हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन समितिले जनाएको छ ।

त्यसैगरी, बेनीघाट रोराङ–३, सितलबजारस्थित ब्लु ह्यावन होटल लाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । अनुगमनका क्रममा बिक्रीका लागि राखिएका खानेकुरा तथा फ्रिजमा भण्डारण गरिएका खाद्य सामग्रीमा किरा परेको, अत्यन्तै फोहोर अवस्थामा खाद्य सामग्री राखिएको तथा यसअघि पनि यस्तै कैफियत भेटिएको आधारमा बढी जरिवाना गरिएको समितिले जनाएको छ ।

अनुगमन समितिका अनुसार उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने खालका कमजोरी देखिएकाले खाद्य स्वच्छता तथा उपभोक्ता हित संरक्षणसम्बन्धी कानुनी व्यवस्थाअनुसार कारबाही गरिएको हो । समितिले सबै होटल तथा खाद्य व्यवसायीलाई सरसफाइ, गुणस्तर र खाद्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन समेत दिएको छ ।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी लक्ष्मी गौतम पाण्डेय, प्रहरी उपरीक्षक सुमित खड्का, अनुसन्धान कार्यालय प्रमुख उपअनुसन्धान निर्देशक हुमकान्त पाण्डे, पशु सेवा कार्यालय प्रमुख डा. बब्लु ठाकुर, उद्योग तथा वाणिज्य कार्यालय प्रमुख चुडामणि पुरी, सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश भट्टराई, धादिङ उद्योग वाणिज्य संघका प्रतिनिधि तथा राष्ट्रिय उपभोक्ता मञ्च धादिङका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । तस्वीर स्रोतः शिवराज आचार्य