
धादिङ । धादिङको गजुरी बजारबाट प्रहरीले ७ किलो ४१० ग्राम लागूऔषध (गाँजा) जस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार शनिबार इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले गजुरी गाउँपालिका–२ गजुरी बजारस्थित पृथ्वी लोकमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको हो ।
प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १९८५ नम्बरको यात्रुवाहक ईभी माइक्रो रोकी जाँच गर्ने क्रममा माइक्रोको पछाडिको सिटमा सवार गजुरी गाउँपालिका–६ निवासी २० वर्षीय प्रमोद अधिकारीले साथमा बोकेको पहेँलो रङको साइड–कट बोरामा शंकास्पद वस्तु फेला पारेको जनाएको छ ।
बोराभित्र प्लास्टिकले बेरिएका सात वटा प्याकेटमा गाँजाजस्तो देखिने पदार्थ भेटिएको प्रहरीले जनाएको छ । डिजिटल तराजुमा तौल गर्दा उक्त पदार्थको तौल ७ किलो ४१० ग्राम रहेको थियो ।
बरामद गरिएको पदार्थसहित प्रमोद अधिकारीलाई तत्काल नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा जिल्ला अदालत धादिङमा पेश गरिएको प्रहरीले जनाएको छ । अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त भएपछि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
