धादिङको गजुरीमा २ रोपनीमा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट गर्‍यो

Avatar photo
Dhadingpost
असार २२, २०८३

धादिङ । धादिङको गजुरी गाउँपालिका–४ चौकीभञ्ज्याङ क्षेत्रमा अवैध रूपमा गरिएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहीबार इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले चौकीभञ्ज्याङस्थित करिब दुई रोपनी क्षेत्रफलमा लगाइएको लागू औषध गाँजा फेला पारी फडानी गरेर नष्ट गरेको हो ।

प्रहरीले लागू औषध नियन्त्रण तथा न्यूनीकरण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले नियमित अनुगमनका क्रममा उक्त गाँजा खेती फेला परेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले अवैध रूपमा गाँजा खेती गर्नु कानुनविपरीत रहेको स्मरण गराउँदै यस्ता गतिविधिमा संलग्न हुने व्यक्तिमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही गरिने जनाएको छ । साथै जिल्लाका विभिन्न स्थानमा अवैध लागू औषध खेती तथा कारोबार नियन्त्रणका लागि निगरानी र अभियानलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ ।