
धादिङ । लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीको लायन वर्ष २०२६/२७ का लागि नेतृत्व हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम धादिङबेसीमा सम्पन्न भएको छ । कार्यक्रममार्फत निवर्तमान अध्यक्ष लायन विक्रम विश्वकर्माले नवनिर्वाचित अध्यक्ष लायन राजाराम रिजाललाई क्लबका आधिकारिक कागजात, घण्टी तथा जिम्मेवारी हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।
कार्यक्रममा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आई नेपालका डिपार्टमेन्ट चिफ लायन कृष्णबहादुर पौडेल, रिजन चेयरपर्सन कृष्णप्रसाद ढकाल, कारागार कार्यालय धादिङका कारागार प्रशासक इन्द्रबहादुर खतिवडा, नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका कोषाध्यक्ष नारायणकुमार श्रेष्ठ, क्लबका प्रथम उपाध्यक्ष डा. दिनेश रेग्मी, लायन्स क्लब अफ धादिङ मण्डलीका अध्यक्ष हरिकुमार श्रेष्ठ, धादिङ अस्पतालका मेडिकल अधिकृत डा. सबिन भण्डारी र डा. प्रियजन पाण्डे, समाजसेवी भेषराज रिजाल, डेन्टल सर्जन डा. अनिल गुरुङ, हेल्थ असिस्टेन्ट सन्तोष घिमिरेलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
सामाजिक सेवामा सक्रिय छन् अध्यक्ष रिजाल
नवनिर्वाचित अध्यक्ष लायन राजाराम रिजाल लामो समयदेखि सामाजिक तथा सार्वजनिक सेवामा सक्रिय रहँदै आएका छन् । उनले स्थानीय शान्ति समिति धादिङको संयोजक, धादिङ अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्ष, नीलकण्ठ खानेपानी बोर्ड सदस्य, नीलकण्ठ सामुदायिक सिकाइ केन्द्रको कार्यसमिति सदस्य तथा महेन्द्र माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति सदस्यका रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
यसैगरी उनी नेपाल रेडक्रस सोसाइटी तथा हार्ट फाउन्डेसनका आजीवन सदस्य हुनुका साथै नीलकण्ठ–२ स्थित साहसी युवा क्लबका संस्थापक अध्यक्षसमेत हुन् ।
निवर्तमान कार्यसमितिको एक वर्ष : स्वास्थ्यदेखि शिक्षा र रक्तदानसम्म
निवर्तमान अध्यक्ष लायन विक्रम विश्वकर्माको नेतृत्वमा क्लबले एक वर्षको अवधिमा स्वास्थ्य, शिक्षा, वातावरण, रक्तदान र सामाजिक सेवाका क्षेत्रमा उल्लेखनीय कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
क्लबले गजुरी गाउँपालिका–६ स्थित भानुभक्त माध्यमिक विद्यालयमा आठ जना विशेषज्ञ चिकित्सकसहितको टोलीमार्फत ४०२ जनालाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको थियो। शिविरमा मेडिसिन, स्त्रीरोग, बालरोग, हाडजोर्नी, सर्जरी, दन्त, मानसिक स्वास्थ्य परामर्श, भिडियो एक्स–रे, ईसीजी तथा निःशुल्क औषधि वितरण गरिएको थियो ।
त्यसैगरी धादिङ अस्पताल परिसरमा आयोजित वृहत् रक्तदान कार्यक्रममा ११९ पिन्ट रगत संकलन गरिएको थियो भने नेत्रज्योति संघ धादिङद्वारा आयोजित रक्तदान कार्यक्रममा सहकार्य गर्दै थप २८० पिन्ट रगत संकलनमा सहयोग पुर्याइएको थियो ।
क्लबले बेनिघाट रोराङ गाउँपालिका–१० स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा १ लाख ५० हजार रुपैयाँको लागतमा ‘लायन्स मनराम पुस्तकालय’ स्थापना गरेको छ । साथै जनस्वास्थ्य तथा प्राविधिक अध्ययन विद्यालय धादिङमा अध्ययनरत दलित समुदायकी एक जेहेन्दार तथा विपन्न छात्रालाई २७ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको थियो ।
समुदायसँग जोडिएका विविध कार्यक्रम
क्लबले हरितालिका तीजका अवसरमा नीलकण्ठ–१२ स्थित पशुपति मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य परीक्षण तथा करिब एक हजार भक्तजनलाई पिउने पानी र जलपान वितरण गरेको थियो ।
बेनिघाट रोराङ–१० स्थित भानुभक्त माध्यमिक विद्यालयका कक्षा ९ देखि १२ सम्मका ६० जना विद्यार्थीलाई मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण प्रदान गरिएको थियो। बाला चतुर्दशीका अवसरमा जोन १२ अन्तर्गतका क्लबहरूसँगको सहकार्यमा करिब एक हजार श्रद्धालुलाई निःशुल्क चियापान गराइएको थियो ।
यसका साथै प्रथम सहिद लखन थापा पार्क तथा पशुपति मन्दिर परिसरमा सरसफाइ कार्यक्रम, धादिङ अस्पताल परिसरमा वृहत् सरसफाइ, अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण तथा सामाजिक सेवामा योगदान पुर्याउने १५ जना चिकित्सक तथा स्वास्थ्यकर्मी, ३ जना समाजसेवी र ५ जना पत्रकारलाई सम्मान गरिएको क्लबले जनाएको छ ।
सामाजिक सेवालाई निरन्तरता दिने प्रतिबद्धता
नवनिर्वाचित अध्यक्ष राजाराम रिजालले आफ्नो कार्यकालमा स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, रक्तदान, विपन्न समुदायको सहयोग तथा मानवीय सेवाका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लायन्स क्लबको सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
