अमरसिंह थापाको जन्मस्थल सिरानचोक नै हो : इतिहासविद्हरूको दाबी

Avatar photo
Dhadingpost
असार १६, २०८३

राजेन्द्र न्यौपाने, गोरखा । राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको जन्मस्थल गोरखाको सिरानचोक गाउँपालिका–६ स्थित सिरानडाँडा रहेको इतिहासविद्हरूले दाबी गरेका छन् । गोरखाको अमरपुरमा आयोजित ‘नेपाल एकीकरण अभियानका महान् सेनापति वडाकाजी वीर अमरसिंह थापाको योगदान’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी इतिहासविद् तथा संस्कृतिविद्हरूले लामो समयको ऐतिहासिक अध्ययनपछि यस्तो निष्कर्षमा पुगेको बताएका हुन् ।

इतिहासविद् तथा संस्कृतिविद् प्रा. डा. जगमान गुरुङले उपलब्ध ऐतिहासिक प्रमाण, स्थानीय परम्परा र प्रकाशित ग्रन्थहरूको अध्ययनका आधारमा अमरसिंह थापाको जन्मस्थल सिरानचोक रहेको दाबी गर्नुभयो । उहाँका अनुसार सिरानचोक क्षेत्र अमरसिंह थापा र उनका पिता उमराव भीमसिंह थापासँग प्रत्यक्ष रूपमा जोडिएको ऐतिहासिक स्थल हो ।

उहाँले पृथ्वीनारायण शाहका सेनापति उमराव भीमसिंह थापाको निधनपछि अमरसिंह थापा गोरखा दरबारमा हुर्किएको, सैनिक तालिम प्राप्त गरेको र नेपाल एकीकरण अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो । नाटककार बालकृष्ण समद्वारा लिखित ‘अमरसिंह’ नाटक तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रथम उपकुलपति सूर्यविक्रम ज्ञवालीको ‘नेपालको इतिहासमा अमरसिंह थापा’ पुस्तकमा समेत सिरानचोकलाई जन्मस्थलका रूपमा उल्लेख गरिएको उहाँको भनाइ थियो ।

कार्यक्रममा इतिहासविद् डा. दिनेशराज पन्तले पनि अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमै भएको दाबी दोहोर्याउनुभयो । विसं २०३७ सालदेखि गोरखाको इतिहासमाथि अध्ययन गर्दै आएको उल्लेख गर्दै उहाँले यस विषयमा अनावश्यक विवाद सिर्जना नगरी ऐतिहासिक तथ्यको संरक्षण र प्रवर्द्धनमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठानका संरक्षक क्याप्टेन रामेश्वर थापाको नेतृत्वमा प्रा. डा. जगमान गुरुङ, डा. दिनेशराज पन्त, पूर्वमन्त्री विक्रमबहादुर थापालगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले अमरपुरस्थित अमरसिंह थापा र उमराव भीमसिंह थापाको शालिक, श्रीनाथ गण तथा ऐतिहासिक गढीको स्थलगत अवलोकन गरेका थिए ।

उक्त अवसरमा आयोजित अन्तरक्रियामा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

राष्ट्रिय विभूति अमरसिंह थापाको स्मृतिमा प्रत्येक वर्ष साउन १६ गते अमरपुरमा स्मृति दिवस मनाइँदै आएको छ। यस वर्ष पनि सोही अवसरमा विशेष कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।