
धादिङ । धादिङबेसीस्थित एडभान्स एकेडेमीले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिन विविध शैक्षिक तथा अनुभवमूलक कार्यक्रम आयोजना गरी उत्साहपूर्वक मनाएको छ ।
कार्यक्रमअन्तर्गत विद्यालयका विद्यार्थीहरूलाई प्रत्यक्ष धान रोपाइँमा सहभागी गराई धान खेतीको सम्पूर्ण प्रक्रियाबारे व्यवहारिक ज्ञान प्रदान गरिएको थियो । धानको बीउ तयार गर्ने, बिउब्याड व्यवस्थापन, रोपाइँ गर्ने विधि तथा उत्पादनका लागि किसानले गर्नुपर्ने कठिन परिश्रमबारे विद्यार्थीहरूले प्रत्यक्ष अनुभव लिने अवसर पाएका थिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल भीमबहादुर श्रेष्ठले राष्ट्रिय धान दिवसको ऐतिहासिक, सामाजिक तथा आर्थिक महत्वबारे प्रकाश पार्दै नेपाल कृषि प्रधान देश भएकाले धान उत्पादन खाद्य सुरक्षाको प्रमुख आधार भएको बताउनुभयो । उहाँले किसानहरूको अथक मेहनतले नै देशको खाद्यान्न आवश्यकता पूर्ति भइरहेको उल्लेख गर्दै विद्यार्थीहरूमा कृषि पेशाप्रति सम्मान र सकारात्मक सोच विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो ।
उहाँले असार १५ मा दही–चिउरा खाने परम्पराको सांस्कृतिक तथा स्वास्थ्यसम्बन्धी महत्वबारे पनि जानकारी गराउनुभयो । रोपाइँको कठिन श्रमपछि शरीरलाई ऊर्जा, पोषण र शीतलता प्रदान गर्ने विश्वासका साथ दही–चिउरा खाने परम्परा विकास भएको बताउँदै यसले नेपाली मौलिक संस्कृति, कृषि परम्परा र सामूहिक सद्भावलाई थप मजबुत बनाउने सन्देश दिने उल्लेख गर्नुभयो ।
कार्यक्रमको अर्को आकर्षणका रूपमा विद्यालयले सबै विद्यार्थीलाई दही–चिउरा वितरण गरेको थियो । विद्यार्थीहरूले उत्साहपूर्वक दही–चिउरा ग्रहण गर्दै यसको सांस्कृतिक महत्वका साथै नेपाली कृषि परम्पराबारे थप जानकारी हासिल गरेका थिए ।
विद्यालयले यस्ता अतिरिक्त तथा अनुभवमा आधारित सिकाइका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ । पुस्तकमा सीमित ज्ञानभन्दा बाहिर गएर प्रत्यक्ष अभ्यासमार्फत सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएका यस्ता कार्यक्रमले विद्यार्थीहरूमा व्यवहारिक ज्ञान, श्रमप्रतिको सम्मान, कृषि तथा संस्कृतिप्रतिको सकारात्मक दृष्टिकोण र सामाजिक उत्तरदायित्वको भावना विकास हुने विद्यालयको विश्वास छ ।
एडभान्स एकेडेमीले आगामी दिनहरूमा पनि सिर्जनात्मक, संस्कृतिमूलक तथा अनुभवमा आधारित शैक्षिक कार्यक्रमलाई निरन्तरता दिँदै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ ।
