मुक्रावदेवीमा हरेक आइतबार स्थानीय संस्कृति, भाषा, भेषभूषा विशेष

Avatar photo
Dhadingpost
जेष्ठ ३१, २०८३

धादिङ । स्थानीय कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले धादिङको रुबीभ्याली गाउँपालिका–४ स्थित मुक्रावदेवी माविले हरेक आइतबार विद्यार्थीहरूलाई तामाङ संस्कृति, भाषा, भेषभूषा तथा परम्पराबारे विशेष जानकारी दिने कार्यक्रम सञ्चालन गरेको छ ।

तामाङ समुदायको बाहुल्यता रहेको उक्त विद्यालयले विद्यार्थीहरूमा आफ्नो मौलिक संस्कृति र पहिचानप्रति गर्वको भावना विकास गराउने लक्ष्यसहित यो अभियान सुरु गरेको हो । कार्यक्रम अन्तर्गत आइतबार विद्यालयमा विद्यार्थीहरूलाई तामाङ परम्परागत पोशाकमा उपस्थित हुन प्रोत्साहित गरिन्छ भने तामाङ धर्म, संस्कृति, इतिहास, भाषा, संस्कार तथा सामाजिक मूल्य–मान्यताबारे जानकारी प्रदान गरिन्छ ।

विद्यालयका प्रधानाध्यापक तीर्थराज सुवेदीका अनुसार आधुनिकताको प्रभावसँगै स्थानीय संस्कृति र परम्परा ओझेलमा पर्न थालेको अवस्थामा नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्न यो प्रयास थालिएको हो ।

“विद्यार्थीहरूलाई पाठ्यपुस्तकको ज्ञानसँगै आफ्नो समुदायको इतिहास, भाषा, संस्कार, चाडपर्व र सांस्कृतिक मूल्यबारे पनि जानकारी हुनु आवश्यक छ,” प्रधानाध्यापक सुवेदीले भने, “यसले उनीहरूमा आफ्नो संस्कृति संरक्षण गर्ने भावना विकास गर्न मद्दत पुग्ने विश्वास गरेका छौँ ।”

विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूको संयुक्त पहलमा सुरु गरिएको यो कार्यक्रमले विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायबाट सकारात्मक प्रतिक्रिया पाएको विद्यालयले जनाएको छ । विद्यालयको यो अभ्यासले स्थानीय भाषा, कला र संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

स्थानीय समुदायले पनि विद्यालयको यस पहललाई मौलिक संस्कृति जोगाउने प्रभावकारी माध्यमका रूपमा लिँदै अन्य विद्यालयहरूले समेत यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । तस्वीरः प्रदिप श्रेष्ठ