
काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महाकुम्भ फिफा विश्वकप २०२६ बिहीबारबाट सुरु हुँदैछ । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको यस संस्करणलाई फिफा इतिहासकै सबैभन्दा ठूलो र भव्य विश्वकपका रूपमा हेरिएको छ ।
पहिलो पटक ४८ राष्ट्रको सहभागिता रहेको विश्वकपमा कुल १०४ खेल हुनेछन् भने प्रतियोगिता तीन देशका १६ सहरस्थित रंगशालामा सञ्चालन हुनेछ । यसअघि विश्वकपमा ३२ राष्ट्रले मात्र प्रतिस्पर्धा गर्दै आएका थिए ।
उद्घाटन खेल नेपाली समयअनुसार मध्यराति १२ः४५ बजे हुनेछ । यस संस्करणमा ४८ राष्ट्रका १ हजार २४८ खेलाडी सहभागी छन् । साथै ७१ देशका ४४९ क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका खेलाडीहरूले विश्वकपमा आफ्नो देशको प्रतिनिधित्व गर्दैछन् ।
पाँच पटकको विश्व विजेता ब्राजिल लगातार २३औँ पटक विश्वकप खेल्दैछ । साबिक विजेता अर्जेन्टिना, फ्रान्स, पोर्चुगल, स्पेन, ब्राजिल र नेदरल्यान्ड्सलाई यसपटक उपाधिका प्रमुख दाबेदार मानिएको छ । तर चार पटकको विश्व च्याम्पियन इटाली, पोल्यान्ड, डेनमार्क, नाइजेरिया र क्यामरुनजस्ता चर्चित राष्ट्र भने छनोट हुन सकेनन् ।
यता उज्वेकिस्तान, केप भर्डे, कुराकाओ र जोर्डनले पहिलो पटक विश्वकपमा सहभागिता जनाउँदै छन् । कतार, हाइटी, न्युजिल्यान्ड, इजिप्ट, इराक र क्यानडाजस्ता टोलीहरू पनि विश्वकप इतिहासको पहिलो जितको खोजीमा रहनेछन् ।
तीन देशमा तीन उद्घाटन समारोह
विश्वकप इतिहासमै पहिलो पटक प्रतियोगिता तीन देशमा आयोजना हुन लागेको हो । त्यसैले उद्घाटन समारोह पनि तीनै देशमा आयोजना गरिनेछ ।
पहिलो उद्घाटन समारोह मेक्सिको सिटीमा हुनेछ, जहाँ मेक्सिकन संस्कृति, कला र परम्परालाई झल्काउने विशेष कार्यक्रम प्रस्तुत गरिनेछ । दोस्रो समारोह क्यानडाको टोरन्टोमा आयोजना हुनेछ, जहाँ बहुसांस्कृतिक समाज र राष्ट्रिय पहिचानलाई संगीत तथा दृश्य प्रस्तुतिमार्फत देखाइनेछ ।
तेस्रो उद्घाटन समारोह अमेरिकाको लस एन्जलसमा हुनेछ । अत्याधुनिक प्रविधि र अन्तर्राष्ट्रिय संगीत प्रस्तुति समेटिएको उक्त कार्यक्रममा विश्वप्रसिद्ध कलाकारहरूको सहभागिता रहने जनाइएको छ ।
मेसी, रोनाल्डोदेखि एम्बाप्पेसम्म
यसपटकको विश्वकपमा फुटबल जगतका चर्चित स्टार खेलाडीहरूमाथि विशेष नजर रहनेछ। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका लियोनल मेसी, फ्रान्सका केलियन एम्बाप्पे तथा स्पेनका युवा सनसनी लामिन यमाल मुख्य आकर्षणका रूपमा रहेका छन् ।
४० वर्षीय रोनाल्डोका लागि यो सम्भावित अन्तिम विश्वकप मानिएको छ भने ३८ वर्षीय मेसीले आफ्नो छैटौँ विश्वकप खेल्दै नयाँ इतिहास रच्ने तयारी गरेका छन् ।
चोटबाट फर्किएका ब्राजिलका नेमार, जर्मनीका अनुभवी गोलरक्षक म्यानुएल नोएर, इंग्ल्यान्डका जुड बेलिङ्घम, स्पेनका लामिन यमाल तथा फ्रान्सका एम्बाप्पे जस्ता खेलाडीहरू पनि प्रतियोगिताका केन्द्रबिन्दु बन्ने अपेक्षा गरिएको छ ।
सन् २०२२ को विश्वकप फाइनलमा ह्याट्रिक गर्दै विश्व फुटबललाई चकित पारेका एम्बाप्पे यसपटक पनि गोल्डेन बुटका प्रमुख दाबेदार मानिएका छन् । युवा र अनुभवी खेलाडीबीचको प्रतिस्पर्धाले विश्वकप २०२६ लाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।
मेसी र रोनाल्डोजस्ता महान खेलाडीहरूको सम्भावित अन्तिम विश्वकप तथा एम्बाप्पे, यमाल र बेलिङ्घमजस्ता नयाँ पुस्ताका स्टारहरूको उदयका कारण विश्वकप २०२६ लाई फुटबल इतिहासको विशेष संस्करणका रूपमा हेरिएको छ ।
