रास्वपा धादिङको बैठक सम्पन्न, जिल्ला सदस्यमा दुई जना मनोनित

Avatar photo
Dhadingpost
भदौ २७, २०८३

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको जिल्ला बैठक मलेखुस्थित भद्रकाली होटलमा सम्पन्न भएको छ ।

जिल्ला सभापति राजन अर्यालको अध्यक्षतमा सम्पन्न बैठकले जिल्लाको संगठन विस्तार तथा आगामी कार्ययोजना लगायतका विषयमा छलफल गर्दै जिल्ला सदस्यमा दुई जनालाई मनोनित गर्ने प्रस्ताव पारित गरेको छ ।

बैठकबाट रुवीभ्याली गाउँपालिकाकी मिनाकुमारी गुरुङथाक्रे गाउँपालिकाकी मथुरा गजुरेललाई जिल्ला सदस्यमा मनोनित गर्ने प्रस्ताव पारित भएको रास्वपा धादिङले जनाएको छ ।

बैठकमा जिल्लाको पछिल्लो राजनीतिक अवस्था, संगठन विस्तार, स्थानीय तहमा पार्टीको गतिविधि तथा आगामी दिनमा पार्टीलाई थप व्यवस्थित र सक्रिय बनाउने विषयमा समेत छलफल भएको बताइएको छ ।

त्यस्तै, धादिङमा हालै आएको बाढी तथा विपद्का कारण प्रभावित नागरिकको उद्धार तथा राहतमा खटिएका कार्यकर्ताहरूलाई बैठकले धन्यवाद ज्ञापन गरेको छ । साथै, बाढी प्रभावितहरूको पुनर्वासका लागि समेत सहयोग गर्न सबैमा अपिल गरेको छ ।

बैठकले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ भने मृतकका परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।