
धादिङ । थाक्रे गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयमा जंक फुड पूर्ण रूपमा निषेध गर्दै विद्यालय समय र दिवा खाजासम्बन्धी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ।
गाउँपालिकाले २०८३/०४/२४ गते सम्पन्न प्रधानाध्यापक बैठकको निर्णयअनुसार सूचना जारी गर्दै विद्यालयमा नियमित कक्षा सञ्चालनको समय बिहान १० बजेदेखि सुरु गर्न निर्देशन दिएको हो। नियमित कक्षा सुरु हुनुअघि बिहान १० बजेसम्म राष्ट्रिय गान, पीटी तथा अन्य सहशैक्षिक क्रियाकलाप सम्पन्न गरिसक्नुपर्ने सूचनामा उल्लेख छ।
गाउँपालिकाले सम्पूर्ण विद्यालय परिसर तथा विद्यालय क्षेत्रलाई जंक फुड निषेधित क्षेत्रका रूपमा कार्यान्वयन गर्न भनेको छ। विद्यालयभित्र जंक फुडको बिक्री–वितरण तथा उपभोगमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्ने र यसको प्रभावकारी कार्यान्वयन नभए सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति जिम्मेवार हुने जनाइएको छ।
त्यस्तै, विद्यालयले विद्यार्थीका लागि दिवा खाजाको नियमित रुटिन अर्थात् समयतालिका तयार गरी विद्यालयको दिवा खाजा प्रारूप, २०८१ अनुसार विद्यालय व्यवस्थापन समितिबाट स्वीकृत गराई अनिवार्य रूपमा प्रकाशन तथा कार्यान्वयन गर्नुपर्ने गाउँपालिकाले जनाएको छ।
दिवा खाजाको रुटिन तथा खाजा व्यवस्थापनसम्बन्धी विवरण शिक्षा, युवा तथा खेलकुद शाखालाई जानकारी गराउनसमेत विद्यालयहरूलाई निर्देशन दिइएको छ।
उल्लिखित व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गरी अनुशासित, स्वस्थ तथा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सहयोग पुर्याउन गाउँपालिकाले सम्पूर्ण विद्यालय, विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय, जनप्रतिनिधि तथा अभिभावकहरूलाई आग्रह गरेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम लम्सालद्वारा जारी सूचनामा विद्यालय समय, जंक फुड निषेध तथा दिवा खाजासम्बन्धी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न भनिएको छ।
