एड्भान्स एकेडेमीमा तीज विशेष नृत्य प्रतियोगिता सम्पन्न

Avatar photo
Dhadingpost
भदौ २६, २०८३

धादिङ । धादिङमा रहेको एड्भान्स एकेडेमीमा हरितालिका तीजको अवसरमा आयोजित तीज विशेष नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको सांस्कृतिक तथा धार्मिक महत्त्व नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले विद्यालयले प्रतियोगिता आयोजना गरेको जनाएको छ ।

प्रतियोगितालाई कक्षा १ देखि ५ र कक्षा ६ देखि ९ गरी दुई समूहमा विभाजन गरिएको थियो। कक्षा १ देखि ५ सम्मको तीज नृत्य प्रतियोगितामा निलो सदन प्रथम, रातो सदन द्वितीय र हरियो सदन तृतीय भएका छन् ।

त्यस्तै, कक्षा ६ देखि ९ सम्मको प्रतियोगितामा निलो सदन प्रथम, हरियो सदन द्वितीय र पहेंलो सदन तृतीय भएका छन् ।

कुशे औँसी अर्थात् बुवाको मुख हेर्ने दिनको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा विजयी विद्यार्थीहरूलाई विद्यालयका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ गोर्खालीले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।

कार्यक्रमको उद्देश्यबारे विद्यालयका प्रधानाध्यापक भीमबहादुर श्रेष्ठले तीज पर्व कसरी र किन मनाइन्छ भन्ने सांस्कृतिक सन्देश विद्यार्थीहरूमा पुर्‍याउनुका साथै नेपालको मौलिक सांस्कृतिक परम्परा र संस्कारलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु रहेको बताए ।

विद्यार्थीहरूले उत्साहपूर्वक प्रस्तुत गरेका तीज नृत्यले विद्यालय परिसरलाई सांस्कृतिक रङमा रंगाएको थियो । विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास, सिर्जनशीलता, सांस्कृतिक चेतना तथा मौलिक परम्पराप्रतिको सम्मान विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।