धादिङ नेपाली समाज अमेरिका निर्वाचन : आज उम्मेदवारी दर्ता, अध्यक्षमा गुरुङ र अधिकारीको चर्चा

Avatar photo
Dhadingpost
जेष्ठ २५, २०८३

धादिङ । धादिङ नेपाली समाज अमेरिका (DNSA) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । सार्वजनिक गरिएको निर्वाचन कार्यतालिकाअनुसार आज जुन ८ मा विभिन्न पदका आकांक्षीहरूले उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।

समाजको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा राज गुरुङ र सागर अधिकारीले उम्मेदवारी दिने तयारी गरिरहेको स्रोतले जनाएको छ । दुवै जनाले अध्यक्ष पदमा आकांक्षा व्यक्त गरेसँगै निर्वाचन प्रतिस्पर्धात्मक हुने संकेत देखिएको छ ।

निर्वाचन समितिले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष तथा १२ जना कार्यसमिति सदस्य पदका लागि उम्मेदवारी खुला गरेको छ ।

निर्धारित शुल्कअनुसार अध्यक्ष पदका उम्मेदवारले ७५० अमेरिकी डलर बुझाउनुपर्नेछ । वरिष्ठ उपाध्यक्षका लागि ५५० डलर, उपाध्यक्ष र महासचिवका लागि ५००–५०० डलर, सचिव र कोषाध्यक्षका लागि ४००–४०० डलर तथा सह–कोषाध्यक्षका लागि ३०० डलर शुल्क तोकिएको छ । कार्यसमिति सदस्य पदका उम्मेदवारले २०० डलर शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन कार्यतालिकाअनुसार जुन ९ मा उम्मेदवारहरूको नामावली प्रकाशन गरिनेछ भने जुन १० मा उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्न सकिनेछ । जुन ११ मा प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक गरिनेछ । त्यसैगरी जुन १२ मा उम्मेदवारी फिर्ता लिन सकिने अन्तिम समय तोकिएको छ र सोही दिन अन्तिम उम्मेदवार सूची प्रकाशन गरिनेछ ।

समितिका अनुसार जुन १४ मा वार्षिक साधारणसभा (AGM) सम्पन्न भएपछि साँझ ५ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ । मतदान सम्पन्न लगत्तै मतगणना गरी नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ ।

धादिङ नेपाली समाज अमेरिका हाल टकबहादुर रुवालीको अध्यक्षतामा सञ्चालन भइरहेको छ । अमेरिकामा करिब ३ हजारको हाराहारीमा धादिङका बासिन्दा रहेको अनुमान गरिए पनि समाजका ७४४ जना सदस्यले मात्र मतदान प्रक्रियामा सहभागी हुन पाउनेछन् ।

आगामी निर्वाचनले अमेरिकामा रहेका धादिङवासी नेपालीहरूको साझा संस्थाको नेतृत्व चयन गर्ने भएकाले यसलाई चासोका साथ हेरिएको छ।