
पोर्चुगल । नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलले नेपाली जनप्रगतिशील मञ्च युरोपका वरिष्ठ उपाध्यक्ष तथा संगठन विभाग प्रमुख गङ्गाप्रसाद भुषालको प्रमुख आतिथ्यतामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
“कार्यक्रमको प्रारम्भमा नेपाली जनप्रगतिशील मञ्च युरोपका सचिव हरिश्चन्द्र पोखरेलले संगठनको वर्तमान अवस्था र आगामी योजनाबारे धारणा राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भुषालले नेपालको बदलिँदो राजनीतिक परिवेशसँगै संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याए । उनले संगठनका सदस्यहरूले आचरण, सिद्धान्त र व्यवहारलाई आत्मसात गर्दै विशेषगरी आन्तरिक व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका थिए ।
भुषालले विगतका अनुभव, मतभेद तथा चुनौतीहरूलाई गम्भीर छलफलमार्फत निष्कर्षमा पुर्याउँदै आगामी कार्यसमितिलाई स्पष्ट योजना र लक्ष्यसहित अघि बढाउनुपर्ने धारणा राखे । साथै प्रवासी नेपालीहरूको साझा सहयात्रीका रूपमा भाषा, संस्कृति र संस्कारको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने तथा आप्रवासी नेपालीहरूले भोग्ने विभिन्न समस्यामा नैतिक, भौतिक र आर्थिक सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा अन्तरमहादेशीय प्रदेश प्रवास संगठनका सहकोषाध्यक्ष महेश कुमार खातीले पोर्चुगलस्थित संगठन एकताबद्ध रहेको उल्लेख गर्दै नयाँ संरचनाअनुसार नेतृत्व चयनपछि संगठन अझ प्रभावकारी र उदाहरणीय बन्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी अन्तरमहादेशीय प्रदेश प्रवास संगठनका सदस्य रामचन्द्र मरहट्टाले नेपालको बदलिँदो राजनीतिक परिस्थितिले केही अन्योलता सिर्जना गरे पनि जनयुद्ध र त्यसको जगमा स्थापित गणतन्त्र तथा संविधानको संरक्षणका लागि पार्टीले अझै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले पोर्चुगलमा गठन हुने नयाँ संगठनले प्रवासी नेपालीहरूलाई संगठित गर्दै आन्दोलन र पार्टीलाई आवश्यक सहयोग तथा समर्थन प्रदान गर्नुपर्ने धारणा राखे ।
मरहट्टाले पोर्चुगलका विभिन्न नेपाली संघसंस्थामा सक्रिय सहभागिता जनाउँदै प्रवासी नेपाली समुदायबीच रचनात्मक सहयोग र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा अन्तरमहादेशीय प्रदेश प्रवास संगठनका सहकोषाध्यक्ष महेश कुमार खाती, सदस्य रामचन्द्र मरहट्टा, युरोप समितिका सचिव हरिश्चन्द्र पोखरेल, युरोप महाशाखा सदस्य नवराज गौतम, सूर्य सौगातलगायत जनप्रगतिशील मञ्च पोर्चुगलका निवर्तमान कार्यसमितिका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
