
धादिङ । जिल्लास्तर र प्रदेशस्तरमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेका धादिङका १० जना विद्यार्थी खेलाडीहरू १६ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएका छन् ।
बागमती प्रदेशको प्रतिनिधित्व गर्दै सहभागी भएका यी खेलाडीहरूले स्थानीय तहदेखि प्रदेशस्तरसम्म स्वर्ण पदक जितेर केन्द्रिय प्रतियोगितामा स्थान बनाएका हुन् ।
जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङका अनुसार धादिङबाट केन्द्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीहरूमा उत्सव पुरी (उसु), सिर्जना श्रेष्ठ (ज्याभ्लिङ थ्रो), रितिक बस्याल (ज्याभ्लिङ थ्रो), सुमन घले (तेक्वान्दो ४८ केजी), नविन गुरुङ (कबड्डी), रविन श्रेष्ठ (कबड्डी), सम्झना श्रेष्ठ (कबड्डी), एलिसा अधिकारी (कबड्डी), झरन विक (भलिबल) र दिपेश सुनार (भलिबल) रहेका छन् ।
यसअघि एक साता अघि सम्पन्न बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धादिङले उत्कृष्ट प्रदर्शन गर्दै ६ स्वर्ण, ३ रजत र ११ कास्य पदक जित्दै तृतीय स्थान हासिल गरेको थियो ।
गत वर्षको केन्द्रिय राष्ट्रपति रनिङ शिल्डमा पनि धादिङका ९ जना खेलाडीले स्थान बनाउन सफल भएका थिए । उक्त प्रतियोगितामा विवश तामाङले स्वर्ण पदक जितेका थिए भने सिर्जना श्रेष्ठ ‘पिङ्की’ ले ज्याभलिङ थ्रोतर्फ कास्य पदक हात पारेकी थिइन् ।
जिल्लाबाट निरन्तर देखिँदै आएको खेलकुदको यो सफलताले धादिङको खेल क्षेत्रलाई थप उत्साहित बनाएको छ ।
