
धादिङ । १६ औं बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धादिङ जिल्ला मेडल तालिकाको आधारमा तृतीय स्थान हासिल गर्दै ऐतिहासिक सफलता हात पार्न सफल भएको छ । जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङका अनुसार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको इतिहासमै धादिङको यो सबैभन्दा ठूलो उपलब्धि हो ।
प्रतियोगितामा धादिङले ६ स्वर्ण, ३ रजत र ११ कास्य पदक जित्दै उपविजेता बन्न सफल भएको हो । प्रतियोगिताको प्रथम स्थान भने काठमाडौंले हासिल गरेको छ ।
धादिङका लागि उत्सव पुरीले उसुमा, सिर्जना श्रेष्ठ र रितिक बस्यालले एथलेटिक्समा, सुमन घलेले तेक्वान्दो (४८ केजी) मा, महिला कबड्डी टोली र छात्र कबड्डी टोलीले स्वर्ण पदक जितेका थिए ।
त्यसैगरी अन्जली चेपाङले एथलेटिक्स, धनलक्ष्मी श्रेष्ठले ट्रिपल जम्प तथा छात्रा ४×४०० रिले टोलीले रजत पदक हात पारेका थिए ।
कास्य पदक जित्ने खेलाडी तथा टोलीहरूमा बिबेक तामाङ र जोशिला तामाङ (कराते), डोल्मा तामाङ र सम्राट थापा (उसु), सुमि बिश्कर्मा, पाबल तामाङ, प्रदीप तामाङ र कविता तामाङ (तेक्वान्दो) तथा छात्र भलिबल टोली रहेका छन् ।
गत वर्ष सम्पन्न बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धादिङले २ स्वर्णसहित २० पदक जित्दै उल्लेखनीय सफलता हासिल गरेको थियो । त्यसबेला सिर्जना श्रेष्ठले ज्याभ्लिङ थ्रोमा स्वर्ण पदक जितेकी थिइन् भने काठमाडौंलाई पराजित गर्दै धादिङको छात्रा कबड्डी टोलीले स्वर्ण पदक हात पारेको थियो ।
२०८० सालमा धादिङले २ स्वर्णसहित १४ पदक जित्दै बागमती प्रदेशमा छैटौं स्थान हासिल गरेको थियो । यस वर्षको ऐतिहासिक उपलब्धिले धादिङ जिल्लाको खेलकुद क्षेत्रको बढ्दो क्षमता र सम्भावनालाई थप उजागर गरेको छ ।
