धादिङमा ८० केजी अवैध क्रिष्टलजस्तो वस्तुसहित एक पक्राउ

Avatar photo
Dhadingpost
जेष्ठ ७, २०८३

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका–३ सेक्टर चौताराबाट प्रहरीले ८० केजी अवैध क्रिष्टलजस्तो देखिने वस्तुसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मिति २०८३ जेठ ६ गते रुबीभ्याली गाउँपालिकाबाट धादिङबेसीतर्फ अवैध वस्तु ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी सेर्तुङबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उक्त वस्तु बरामद गरेको हो ।

प्रहरीले प्लास्टिकका चार वटा बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा अवैध क्रिष्टलजस्तो देखिने वस्तु फेला पारेको जनाएको छ । उक्त वस्तुसहित रुबीभ्याली गाउँपालिका–३ बस्ने ३५ वर्षीय फुन्चो तामाङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको वस्तुको तौल ८० केजी रहेको प्रहरीले जनाएको छ । स्थानीय व्यक्तिहरूको रोहबरमा मुचुल्का तयार गरी बरामद वस्तु र पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय धादिङ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।