
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर परीक्षणमा न्यूनस्तर देखिएपछि डाबर हनी बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको विभागले जारी गरेको सार्वजनिक सूचनाअनुसार आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बजार अनुगमनका क्रममा संकलन गरिएको “Honey (500 gram)” नमुनाको परीक्षण गर्दा तोकिएको गुणस्तरभन्दा कम गुणस्तर भेटिएको जनाएको छ ।
विभागका अनुसार डाबर नेपाल प्रालिद्वारा उत्पादन गरिएको उक्त महमा “सुक्रोज तथा न्यून इन्भर्ट सुगर” सम्बन्धी मापदण्ड पूरा नभएको पाइएको हो ।
यससँगै विभागले खाद्य ऐन, २०२३ को दफा १६ बमोजिम उक्त उत्पादन तत्काल बजारबाट फिर्ता (Recall) गर्न आदेश दिएको जनाएको छ । साथै सो उत्पादनको बिक्री वितरण नगर्न तथा उपभोग नगर्न पनि सर्वसाधारणलाई आग्रह गरिएको छ ।
सूचनाअनुसार बजारबाट फिर्ता गर्न भनिएको उत्पादनको विवरण यस प्रकार रहेको छः
- उत्पादन : Honey (500 gram)
- ब्याच नं. : NB00477
- ब्रान्ड : DABUR
- उत्पादन मिति : २०२५ डिसेम्बर
- उपभोग मिति : उत्पादन मितिले १८ महिना
- उत्पादक : डाबर नेपाल प्रालि, बनेपास्थित उद्योग
विभागले खाद्य सुरक्षामा गम्भीर बन्न सबै व्यवसायी तथा उपभोक्तालाई सचेत रहन आग्रह गरेको छ ।
