
धादिङ । बेनीघाट रोराङ गाउँपालिका–७, चरौंदीस्थित राईजिङ स्टार इङ्ग्लिस बोर्डिङ स्कुलले एसईई २०८२ मा ४.०० जिपिए ल्याउन सफल विद्यार्थी उम्मिद थपलियालाई नगद १ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।
विद्यालयका प्रिन्सिपल टिका थपलियाका अनुसार विद्यालयले यसअघि नै पालिका स्तरीय परीक्षामा प्रथम हुने विद्यार्थीलाई ५० हजार रुपैयाँ तथा एसईईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई नगद १ लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेको थियो ।
सोही घोषणा अनुसार उम्मिद थपलियालाई विशेष सम्मान गरिने विद्यालयले जनाएको छ । विद्यालयले हेलिकोप्टरमार्फत पुष्पवृष्टि गर्ने पूर्वयोजना समेत बनाएको भएपनि विशेष परिस्थितिका कारण उक्त कार्यक्रम तत्कालका लागि स्थगित गरिएको प्रिन्सिपल थपलियाले बताए ।
यद्यपि नगदसहितको सम्मान कार्यक्रम भने यथावत रहने विद्यालय प्रशासनले जनाएको छ ।
राईजिङ स्टार इङ्ग्लिस बोर्डिङ स्कुलले स्थापना कालदेखि नै हरेक वर्ष शतप्रतिशत नतिजा निकाल्दै आएको छ । यस वर्ष विद्यालय इतिहासमै पहिलो पटक ४ जिपिए प्राप्त भएको हो ।
