
धादिङ । संघीय निर्वाचनमा अप्रत्याशित सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले प्रदेश र स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तारमा जुटेको छ । निर्वाचनको मिति तय नभइसके पनि पार्टीले वडा तहसम्म संगठन बलियो बनाउने रणनीति अघि बढाएको छ ।
यसैअनुसार रास्वपा धादिङले पछिल्लो समय जिल्लाका विभिन्न वडाहरूमा केन्द्रित भेला तथा संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ । पार्टीले प्रदेश तथा स्थानीय तहमा उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूको पहिचान र तयारीसमेत अघि बढाइरहेको जनाएको छ ।
यस अभियानकै क्रममा शनिबार ज्वालामुखी गाउँपालिका वडा नं. १, २ र ३ को संयुक्त वडा भेला सम्पन्न भएको छ । कार्यक्रम धादिङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले रास्वपा परिवर्तनको संवाहक शक्ति भएको उल्लेख गर्दै आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा समेत विजय हासिल गर्ने गरी जनपक्षीय काममा जुट्न कार्यकर्ताहरूलाई आग्रह गरे । उनले अब बजेट विनियोजनको समय नजिकिँदै आएकाले स्थानीय आवश्यकताअनुसार योजनाहरू तयार गरी प्रस्तुत गर्न पनि निर्देशन दिए ।
साथै, समाजमा देखिएका बेथिति, अनियमितता र विकृतिविरुद्ध खुलेर जनतामाझ जाने र आवाज उठाउने काममा सक्रिय हुन उनले कार्यकर्ताहरूलाई आग्रह गरेका थिए ।
रास्वपाले धादिङमा वडा तहबाटै संगठन सुदृढ गर्दै आगामी निर्वाचनका लागि आधार तयार गर्ने रणनीतिलाई प्राथमिकता दिएको जनाएको छ ।
