धादिङमा कबड्डी निर्णायक तालिम सञ्चालन हुने

Avatar photo
Dhadingpost
बैशाख १५, २०८३

धादिङ । धादिङ जिल्ला कबड्डी संघले जिल्लामा कबड्डी खेलको विकास, विस्तार तथा गुणस्तरीय प्रतियोगिता सञ्चालन गर्ने उद्देश्यले प्रारम्भिक निर्णायक (रेफ्री) तालिम आयोजना गर्ने भएको छ ।

संघले सार्वजनिक गरेको सूचनाअनुसार धादिङका १३ वटै पालिकाबाट प्रत्येक पालिकाबाट २/२ जना सहभागी गराउने लक्ष्य राखिएको छ । तालिममा सहभागी हुन इच्छुक व्यक्तिले आफ्नो पालिकाको सिफारिससहित नाम दर्ता गराउनुपर्ने व्यवस्था गरिएको छ ।

तालिममा कबड्डी खेलका नियम, निर्णायकको भूमिका, व्यवहारिक अभ्यास तथा आवश्यक सैद्धान्तिक विषयहरू समावेश गरिने जनाइएको छ । सहभागीहरूले तालिम अवधिभर अनिवार्य रूपमा उपस्थित भई सक्रिय सहभागिता जनाउनुपर्नेछ । तालिम सफलतापूर्वक सम्पन्न गर्ने सहभागीहरूलाई प्रारम्भिक निर्णायक प्रमाणपत्र प्रदान गरिनेछ ।

संघका अनुसार तालिम शुल्क ८ हजार रुपैयाँ तोकिएको छ । सहभागीका लागि खाना तथा बसोबासको व्यवस्था आयोजकले गर्ने भए पनि यातायात खर्च भने सहभागी स्वयंले व्यहोर्नुपर्नेछ ।

नाम दर्ता धादिङ जिल्ला कबड्डी संघको कार्यालय वा सम्बन्धित पालिकामार्फत गर्न सकिनेछ भने तालिम स्थल पछि जानकारी गराइनेछ । सिफारिसका आधारमा बढीमा १० जना सहभागी छनोट गरिने पनि जनाइएको छ ।

नाम दर्ताको अन्तिम मिति २०८३ साल वैशाख १७ गते दिउँसो १ बजेसम्म तोकिएको छ। तालिम वैशाख १८, १९ र २० गते सञ्चालन हुने कार्यक्रम रहेको छ ।

सम्पर्कका लागि संघले रत्नेश कुमार यादव (९८१०२०६९६१) र मनीष श्रेष्ठ (९८६९२३६१) नम्बर उपलब्ध गराएको छ ।