
धादिङ । धादिङ जिल्ला क्रिकेट संघले धादिङ नेपाली समाज अमेरिका र धादिङ समाज जापानको आर्थिक सहयोगमा जिल्लाका दुई जना सिनियर महिला क्रिकेटरलाई खेल सामग्रीसहित सम्मान गरेको छ ।
जिल्ला स्तरीय अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रमका अवसरमा आयोजित कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द प्रमुख अतिथिका रूपमा उपस्थित भई खेलाडीहरूलाई सामग्री हस्तान्तरण गरेका हुन् ।
सम्मानित हुनेमा नीलकण्ठ नगरपालिका–८ की अप्सरा मगर र सिद्धलेक गाउँपालिका–४ की सानिया गिरी रहेका छन् । उनीहरू दुवै प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगितामा सहभागिता जनाइसकेका खेलाडी हुन् ।
सानिया गिरी हाल ग्रेट हिमालय क्रिकेट एकेडेमीमा प्रशिक्षण लिइरहेकी छन् भने मासटारस्थित धादिङ बहुमुखी क्याम्पस मा स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन् ।
त्यस्तै, अप्सरा मगर हाल केएमसी सिनामंगलमा छात्रवृत्तिमा एमबीबीएस अध्ययनरत हुनुका साथै ग्रेट हिमालय क्रिकेट एकेडेमी मै प्रशिक्षण लिइरहेकी छन् ।
खेल सामग्री खरिदका लागि धादिङ नेपाली समाज अमेरिकाबाट २५ हजार रुपैयाँ र धादिङ समाज जापानबाट २५ हजार रुपैयाँ सहयोग प्राप्त भएको धादिङ जिल्ला क्रिकेट संघका अध्यक्ष दिपेश कडेंलले जानकारी दिएका छन् ।


