धादिङमा अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

Avatar photo
Dhadingpost
बैशाख २, २०८३

धादिङ । धादिङ जिल्ला क्रिकेट संघले बैशाख ४ देखि ९ गतेसम्म बेनीघाट रोराङ गाउँपालिका–स्थित विशालटारमा सञ्चालन हुने जिल्ला स्तरीय अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।

जिल्लाका ८ पालिकाबीच प्रतिस्पर्धा हुने उक्त प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा बेनीघाट रोराङ, त्रिपुरासुन्दरी, ज्वालामुखी र सिद्धलेक रहेका छन् भने समूह ‘बी’ मा गजुरी, नीलकण्ठ, धुनीबेसी र गल्छी परेका छन् ।

सार्वजनिक तालिका अनुसार उद्घाटन खेल बेनीघाट रोराङ र त्रिपुरासुन्दरीबीच हुनेछ । त्यस्तै दोस्रो खेलमा ज्वालामुखी र सिद्धलेकबीच प्रतिस्पर्धा हुनेछ ।

खेल तालिका सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीले विजेता टोलीलाई प्रदान गरिने ट्रफी अनावरण गरेका थिए ।

जिल्ला क्रिकेट संघका अध्यक्ष दिपेश कडेलका अनुसार यो प्रतियोगिता प्रदेशस्तरका लागि जिल्ला छनोट प्रतियोगिता समेत हो । प्रतियोगिताको विजेतालाई नगद रु. ५० हजार र उपविजेतालाई रु. २५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।