ब्लुमिङ लोटस स्कुलमा ३४औँ वार्षिकोत्सव धुमधामका साथ सम्पन्न

Avatar photo
Dhadingpost
चैत्र ३०, २०८२

धादिङ । धादिङको थाक्रे गाउँपालिका–८ मा अवस्थित ब्लुमिङ लोटस इङ्लिस माध्यमिक विद्यालयले आफ्नो ३४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ मनाएको छ ।

वि.स. २०४८ सालमा स्थापना भएको यस विद्यालयले आइतबार विशेष समारोह आयोजना गर्दै वार्षिकोत्सव सम्पन्न गरेको हो । कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागितासहित सांस्कृतिक प्रस्तुति, पुरस्कार वितरण तथा अभिभावक सहभागिता देखिएको थियो ।

विद्यालयका प्रिन्सिपल सञ्जीव गजुरेलका अनुसार नर्सरीदेखि कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीमध्ये वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको छ । साथै, विभिन्न अतिरिक्त क्रियाकलापमा सक्रिय विद्यार्थीहरूलाई समेत पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको जानकारी दिइएको छ ।

यस अवसरमा विद्यालय व्यवस्थापन समितिले लामो समयदेखि शिक्षण कार्यमा संलग्न शिक्षकहरूलाई सम्मान गर्दै उनीहरूको योगदानको कदर गरेको थियो । कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत तथा अन्य सांस्कृतिक प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

कार्यक्रममार्फत विद्यालयले आगामी दिनमा पनि शैक्षिक गुणस्तर सुधार र विद्यार्थीको सर्वाङ्गीण विकासमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेको छ ।