
धादिङ । इलाकाप्रहरी कार्यालयबाट खटिएको प्रहरीले लागूऔषध गाँजा र अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आदमघाट क्षेत्रमा सवारी जाँचका क्रममा आइचर गाडीबाट ठूलो परिमाणमा लागूऔषध बरामद गरिएको हो । प्रहरीले शंका लागेपछि गाडी जाँच गर्दा गाडीभित्र लुकाइ राखिएको अवस्थामा २८६ किलो ४०० ग्राम गाँजा जस्तो देखिने पदार्थ र २०० ग्राम अफिम जस्तो देखिने पदार्थ फेला पारेको जनाएको छ ।
उक्त गाडीका चालक नीलकण्ठ नगरपालिका–९ का २२ वर्षीय हिरालाल विक र सहचालक सिद्धलेक गाउँपालिका–५ का १९ वर्षीय लालबहादुर विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद गरिएको लागूऔषध, गाडी र अन्य सामग्री नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ । पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।














