
धादिङ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले बहुप्रतिक्षित बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य अब छिट्टै अघि बढ्ने बताएका छन् ।
धादिङबेसीमा पत्रकारहरूसँग कुराकानी गर्दै सभामुख अर्यालले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुढीगण्डकी जलविद्युत आयोजनाले अब गति लिने बताए । ज्वालामुखी गाउँपालिकामा आयोजित एक कार्यक्रममा सहभागी हुन धादिङ आएका उनले आयोजनाको काम अब धेरै समय नलागी अगाडि बढ्ने दाबी गरे ।
“अब धेरै महिना कुर्नु पर्दैन, बुढीगण्डकी जलविद्युत आयोजना निर्माण कार्य छिट्टै सुरु हुन्छ । त्यसका लागि आवश्यक तयारी तीव्र रूपमा अघि बढाइएको छ,” उनले भने ।
धादिङ क्षेत्र नं. २ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बुढीगण्डकी आयोजना प्रमुख एजेण्डाका रूपमा उठाइएको थियो । सोही एजेण्डासहित चुनाव जितेका नेताहरूले आयोजनालाई प्राथमिकतामा राख्दै काम अघि बढाउने प्रतिबद्धता जनाउँदै आएका छन् । सभामुख बन्नुअघि पनि अर्यालले धादिङ भ्रमणका क्रममा पटक–पटक बुढीगण्डकी आयोजनालाई अगाडि बढाउने बताएका थिए ।
लामो समयदेखि अन्योलमा रहेको यस आयोजनाले अब स्पष्ट दिशा पाउने अपेक्षा गरिएको छ । आयोजना निर्माण सुरु भएमा धादिङ र गोरखा जिल्लाको समग्र आर्थिक तथा पूर्वाधार विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।











